
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले उक्त रकम सहयोग गरेका हुन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै शर्माले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
पिजन इन्जिनियरिङ ग्रुपका निर्देशकसमेत रहेका शर्माले विपद्को समयमा गरिएको सहयोगको रकमभन्दा मातृभूमिप्रतिको दायित्व र आत्मीयता महत्वपूर्ण रहेको बताएका छन् । उनले आफूहरू विदेशमा रहे पनि मातृभूमिमा आइपर्ने संकटमा सधैँ साथमा रहने उल्लेख गरेका छन् ।
शर्माले उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र गैरसरकारी संस्थाप्रति सम्मान व्यक्त गर्दै प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने एनआरएनए अभियन्ता तथा मानवीय सहयोग गर्ने छिमेकी राष्ट्रहरूप्रति आभार प्रकट गरेका छन् ।
उनले विश्वभर रहेका नेपालीलाई आफ्नो सामर्थ्यअनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेका छन् । राष्ट्रिय संकटका बेला नेपाली एकजुट भएर उभिँदै आएको उल्लेख गर्दै शर्माले सामूहिक प्रयासबाट पीडितलाई राहत र पुनःस्थापनाका लागि थप हौसला मिल्ने बताएका छन् ।