२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

खुल्यो काठमाडौंको मुख्य लाइफलाइन 

Nada
२०८३ भदौ १२ गते १९:१९
Shares
खुल्यो काठमाडौंको मुख्य लाइफलाइन 

काठमाडौं : काठमाडौं उपत्यकाको प्रमुख आपूर्ति मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । रसुवा क्षेत्रमा आएको बाढीका कारण बुधबारदेखि अवरुद्ध राजमार्गको धादिङ खण्डमा लेदो र माटो हटाएपछि शुक्रबार साँझदेखि यातायात सुचारु भएको हो । 

ncell

सडक विभाग र प्रहरीले गजुरीको गलौंदी–बन्छेभिर तथा गल्छीको बैरेनी क्षेत्रमा सडकमा थुप्रिएको लेदो हटाएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालेका छन् । बाढीका कारण ती क्षेत्रमा सडक लेदोमाटोले पुरिएपछि राजमार्गमा यातायात सञ्चालन रोकिएको थियो । राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धादिङ, चितवनलगायत पश्चिमतर्फ जाने ठुला सवारीसाधनसमेत पठाइएको थिएन । त्यसका कारण काठमाडौंको कलंकी, नैकाप, नागढुंगा र बालाजु क्षेत्रमा ट्रक तथा अन्य ठुला सवारीसाधनको लाम लागेको थियो । 

यसअघि गल्छी–बैरेनी खण्डमा थुप्रिएको माटो हटाएर बिहीबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । पुल बगाएर सडकसमेत प्रभावित भएको जरिखेत क्षेत्रमा पनि लेदो हटाएपछि यातायात सञ्चालनमा आइसकेको थियो । 

गजुरीको गलौंदी, बन्छेभिर र गल्छीको बैरेनी क्षेत्रमा सडक सफा गरेपछि रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

पृथ्वी राजमार्ग काठमाडौं उपत्यकालाई देशका प्रमुख व्यापारिक तथा उत्पादन क्षेत्रसँग जोड्ने महत्वपूर्ण सडक हो । राजमार्गमा यातायात पुनः सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा खाद्यान्न, तरकारी, फलफूल तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण केही स्थानमा सडक र पुलमा क्षति पुगेकाले यातायात सञ्चालन भए पनि सवारीचालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर