२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सुरुङमा फसेकाको उद्धार कठिन, भारत र चीनबाट विशेषज्ञ टोली ल्याइने

Nada
२०८३ भदौ १३ गते ०६:२०
Shares
सुरुङमा फसेकाको उद्धार कठिन, भारत र चीनबाट विशेषज्ञ टोली ल्याइने

काठमाडौं : रसुवाका निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा बाढीका कारण फसेका कामदारको उद्धारका लागि सरकारले भारत र चीनबाट विशेषज्ञ टनेल रेस्क्यु टोली ल्याउने तयारी गरेको छ । सुरुङमा लेदो थुप्रिएकाले उनीहरूको उद्धारमा कठिनाइ भएको हो । 

ncell

नेपाली सेनाको टोलीले निकै कठिनाइपूर्वक अपर त्रिशूलीको सुरुङमा फसेका करिब ३५० व्यक्तिको बिहीबार साँझ र शुक्रबार बिहान उद्धार गरेको थियो । अझै सुरुङमा थुप्रै कामदार उद्धारको पर्खाइमा छन् । यस्तोमा विशेषज्ञ टनेल रेस्क्युको सहायता लिन खोजिएको हो । 

परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, सुरुङभित्र फसेकाको उद्धारका लागि भारत र चीनसँग विशेषज्ञ टोली तथा आवश्यक प्राविधिक सहयोगका विषयमा समन्वय भइरहेको छ । बाढीका कारण सुरुङभित्र फसेका मानिसको उद्धार जटिल र जोखिमपूर्ण बनेपछि सरकारले अन्तर्राष्ट्रिय विशेषज्ञ सहयोग लिन लागेको हो । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पनि नेपालको अनुरोधमा टनेल रेस्क्यु टिम पठाउने तयारी गरिएको जनाएका छन् । शुक्रबार नियमित पत्रकार सम्मेलनमा उनले त्यसअघि रेक्की टिम पठाउने बताएका छन् । 

रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण जिल्लाका ११ जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना अझै सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ । तीमध्ये कतिपय सुरुङभित्र फसेको बताइएको छ । केही श्रमिकलाई उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालिसकेको भए पनि ठुलो संख्यामा मानिस अझै जोखिमयुक्त क्षेत्रमा रहेको अनुमान गरिएको छ । 

अपर त्रिशूली जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारमा नेपाली सेनाले शुक्रबार दिनभर अभियान सञ्चालन गरेको थियो । प्रतिकूल मौसम, बाढीको तीव्र बहाव र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच सेनाले ठुलो संख्यामा मजदुर तथा स्थानीयको उद्धार गरेको जनाएको छ । सेनाका अनुसार, अपर त्रिशूलीको सुरुङबाट मात्रै ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिएको छ । सोही सुरुङमा अझै १०० जनाभन्दा बढी मानिस फसेको र उनीहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास जारी रहेको बताइएको छ ।

नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा खटिएको सैनिक टोलीले सुरुङभित्र उद्धार अभियान सञ्चालन गरिरहेको छ । जटिल भूगोल र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका कारण विशेष तालिमप्राप्त जनशक्ति तथा प्राविधिक उपकरण परिचालन गरिएको सेनाले जनाएको छ । यसअघि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको अवस्थाबारे यकिन जानकारी लिन सेनाले शुक्रबार बिहानैदेखि खोजी तथा उद्धार तीव्र पारेको थियो । एउटा सुरुङबाट दुईजनालाई सकुशल उद्धार गरिएको र बाँकी मानिसको खोजी जारी रहेको सेनाले जनाएको थियो । 

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार साँझ उद्धारलाई उच्च प्राथमिकता दिइएको जानकारी दिँदै जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको बताएका छन् । उद्धारका लागि आवश्यक विशेष उपकरणसमेत परिचालन गरिएको पनि उनले बताएका छन् । 

यसैबीच रसुवाका अन्य बाढी प्रभावित क्षेत्रमा पनि सेनाले उद्धार जारी राखेको छ । सिक्युआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको टोलीले स्याफ्रुबेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट ५३३ जना स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ । सेनाका अनुसार शुक्रबार मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर