
काठमाडौं : भोटेकोशी नदीको विनाशकारी बाढीमा परेकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै भारतसम्म पुगेका छन् । सुरक्षाकर्मीले नदीकिनारमा भेटिएका शव संकलन गरेर शवगृहमा राखेका छन् । तर, मृतकको सनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाइ भइरहेको छ भने अर्कोतर्फ आफन्त पीडामा छन् ।
बाढीले बगाएका शवहरू भोटेकोशी, त्रिशूली र नारायणी नदीमा भेटिइरहेका छन् । कसैको कम्मरमाथिको भाग छैन, कसैको टाउको । कसैको हात वा खुट्टा मात्र भेटिएको छ । कतिपय शव झट्ट चिन्न नसकिनेगरी क्षतविक्षत छन् ।
हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ । बाढीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्की तैनाथ छन् । हराएका व्यक्तिको अत्तोपत्तो नभएर पीडित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ । ‘नेपाली सेना, प्रहरी र उद्धारकर्मीले सक्रियतापूर्वक कतै भग्नावशेषमा त कतै बालुवाले पुरिएका शव निकाल्दै हुनुहुन्छ,’ गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्प तामाङले भने, ‘आफन्तहरू भने भेटिएका शव आफ्नै मान्छेको हो कि होइन भन्ने पहिचान गर्न नसक्ने अवस्थामा छन् । त्यो भन्दा ठुलो पीडा अरू के हुन सक्छ ?’ विपद्पछिको सबैभन्दा कठिन बेपत्ताको खोजी र शव पहिचान भएको छ ।
शवको पहिचान गर्न समस्या भएपछि व्यवस्थापन गर्न समेत गाह्रो भएको हो । ‘शव चिनिने अवस्थामा छैनन् । कसैको हात, खुट्टा मात्र भेटिएका छन्, कसैको कम्मरदेखि तलको भाग त कसैको क्षतविक्षत छ,’ तामाङले भने, ‘यस्तोमा संयम भएर व्यवस्थित ढंगले सनाखत गर्नुको विकल्प छैन ।’
सबैभन्दा धेरै शव चितवनमा थुप्रिएका छन् । हराएका आफन्तको खोजी गर्न सयौं परिवारका सदस्य शवगृहमा पुगेका छन् । तर, सनाखत हुनै मुस्किल हुँदा झन् पीडा दिएको छ ।
यस्तो अवस्थामा शवको पहिचानका लागि परिवारजनबाट प्राप्त विवरण, कपडा तथा व्यक्तिगत सामग्री, औंठाछाप, दाँत, डिएनएलगायत वैज्ञानिक विधि महत्त्वपूर्ण हुन्छन् । तर, वैज्ञानिक पहिचानको प्रक्रिया पूरा गर्न समय लाग्ने हुन्छ । त्यसले परिवारको अत्यासपूर्ण व्यग्रतालाई झन् लम्ब्याइदिन्छ ।
भरतपुर महानगरपालिका–१० स्थित विद्युत् रोडमा रहेको औद्योगिक उद्यम विकास संस्थानको प्रयोगविहीन भवनलाई अस्थायी शव भण्डारण केन्द्रका रूपमा प्रयोग गरिएको छ । चितवनका अस्पतालका शवगृहमा एकपटकमा करिब ३० देखि ५० शवसम्म राख्न सकिने क्षमता छ । तर, बाढीले बगाएर ल्याएका शवलाई यही क्षमताले धान्न नसक्ने अवस्था आएपछि अस्थायी केन्द्रमा करिब २५० शवसम्म राख्न सकिने व्यवस्था मिलाउन लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अयार्यले बताएका छन् । बाढीले बगाएर धादिङ, तनहुँ, पूर्वी नवपरासीलगायत जिल्लामा भेटिएका शव पोखरा ल्याइएको छ ।
नदीकिनारमा भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउन सुरु गरिएको छ । शवको संख्या बढ्दै गएपछि चितवन, धादिङ, नवलपरासी र पोखराका अस्पतालमा समेत शव राख्ने ठाउँको अभाव हुन थालेको छ । पहिचान हुन नसकेका शव लामो समयसम्म सुरक्षित राख्नुपर्ने अवस्था आएपछि प्रशासनका लागि व्यवस्थापन थप जटिल बनेको छ ।
भारतसम्मै पुगे शव, खोज्दै आफन्त
बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिको खोजी रसुवा र नुवाकोटमा मात्रै छैन । रसुवादेखि भारतसम्म भेटिएका छन् ।
रसुवा बाढीमा परेर बेपत्ता भएकाहरूको शव पहिचानको आशामा चितवनस्थित भरतपुर अस्पतालको ‘पोस्टमार्टम घर’बाहिर आफन्त पर्खिरहेका छन् । कतिपयले त फोटो प्रिन्ट गरेर ल्याएका छन्, कतिले मोबाइलमा फोटो देखाएर शव देखिएमा खबर गर्न आग्रह गरेका छन् । चितवनस्थित भरतपुर अस्पतालको अवस्था पीडादायी छ ।
देशका विभिन्न जिल्लाबाट हाइड्रो पावरमा काम गर्न गएका, जनैपूर्णिमाको अवसर पारेर गोसाइँकुण्ड दर्शन गर्न गएका र तटीय क्षेत्रमा बस्दै आएका स्थानीय तथा व्यवसायी, कर्मचारी, प्रहरीलगायत एक हजारभन्दा धेरै व्यक्ति अहिले पनि परिवारको सम्र्पकमा छैनन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले शवहरूको पहिचानका लागि नम्बर दिएर अनि फोटो खिचेर राखिने बताउँछिन् । ‘यदि त्यसरी पहिचान हुन नसके डिएनए परीक्षणबाट पहिचान गरिन्छ, शव खोज्न आउने आफन्तको सहजताको लागि शवगृहको छेउमा हेल्प डेस्क स्थापना गरिएको छ ।’ पहिचान नभएका शवलाई व्यवस्थित गर्नका लागि काठमाडौं, चितवन, पोखराका अस्पतालहरूसँग समन्वय भइरहेको उनले बताइन् । नदीतटीय क्षेत्रबाट संकलन गरी ल्याइएको शवलाई पखालेर पहिचान गर्न सकिने गरी राखिने उनले बताइन् । शव व्यवस्थापन तथा पहिचानको लागि अन्य शवको तुलनामा बाढीले बगाएको शवलाई कानुनी प्रक्रियामा सहज बनाइएको उनको भनाइ छ ।