२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

आँखामा आशा, मनमा चिन्ता

आफन्तको खबर पर्खिंदै परिवार

Nada
भावना पाठक
२०८३ भदौ १३ गते ०६:३५
Shares
आँखामा आशा, मनमा चिन्ता

काठमाडौं : हरेकपटक फोनको घण्टी बज्दा उनको मन झसंग हुन्छ । लाग्छ, सायद श्रीमान्को फोन हो । उताबाट परिचित आवाज सुनिनेछ र केही बेरका लागि भए पनि मनमा छाएको डर हट्नेछ । 

ncell

तर फोन आउँदैन । मकवानपुरको हेटौंडाका सरोजकुमार थापा मगरकी श्रीमती अहिले यही प्रतीक्षामा छिन् । कतिबेला श्रीमान्को फोन आउला र उनको आवाज सुन्न पाइएला । 

सरोज बस चालक हुन् । मंगलबार राति ९ बजेसम्म उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि भने उनको फोन आयो न त परिवारले उनको अवस्थाबारे कुनै जानकारी पाउन सकेको छ । श्रीमतीसँग भएको अन्तिम कुराकानीमा उनले गाडी नाका काटिसकेको बताएका थिए । त्यसपछि भने उनको फोन सम्पर्क टुट्यो ।

बुधबार रसुवामा आएको बाढीको खबरसँगै परिवारको चिन्ता झन् बढ्यो । श्रीमान् कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने कुनै जानकारी नहुँदा उनको परिवार यतिबेला चिन्तामा छ । ‘लोकेसन त्यतै नाकाको देखाउँछ, तर सम्पर्क भएको छैन,’ श्रीमतीले रुँदै भनिन्, ‘जहाँ हुनुहुन्छ, छिटो आइदिनुहोला । मेरो श्रीमान्को खोजी गरिदिन सरकारसँग पनि अनुरोध गर्छु ।’

मोबाइलको स्क्रिनमा देखिने लोकेसनले उनीहरूलाई केही आशा भने दिएको छ । तर लोकेसन देखिए पनि आवाज सुन्न नपाउँदा त्यो आशासँगै बेचैनी पनि उत्तिकै छ ।

सरकारले बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार गरिरहेको खबर परिवारसम्म पुगेको छ । उद्धार टोलीले हराइरहेकाहरूलाई खोजिरहेको खबरले थापाकी श्रीमतीको मनमा अझै आशा जीवित राखेको छ । ‘धेरै मानिसहरू भेटिएको सुनिन्छ,’ उनले आँसु पुछ्दै भनिन्, ‘मेरो श्रीमान् पनि भेटिनुहुन्छ भन्ने लागेको छ ।’

दाइ खोज्दै अस्पतालदेखि प्रहरी चौकीसम्म

सामाजिक सञ्जालमा बाढीपछि उद्धार गरिएका मानिसका भिडियो देख्नासाथ कुमारी परियारको आँखा त्यही भीडमा आफ्ना दाइको अनुहार खोज्न थाल्छ । एउटा अनुहारमा नजर अडिन्छ, फेरि निराश भएर अर्को भिडियोतिर पुग्छिन् । रसुवाको टिमुरेमा कार्यरत २९ वर्षीय कुमार परियार बाढी आएको दिनदेखि सम्पर्कविहीन छन् ।

कुमारले गत १० गते बिहान आमासँग करिब पाँच मिनेट कुराकानी गरेका थिए । त्यतिबेला उनले त्यहाँ बत्ती नभएको र मोबाइलको चार्ज पनि सकिन लागेको बताएका थिए । त्यसपछि खाना पकाउने काममा जान लागेको भन्दै उनले आमासँग कुराकानी टुंग्याए । त्यो नै परिवारसँग उनको अन्तिम कुराकानी बन्यो ।

त्यसपछि परिवारले थुप्रैपटक फोन गरिसकेको छ । तर फोन उठ्दैन । कुनै सन्देश आउँदैन । दाइ कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने जानकारी पनि छैन ।

एकातिर विपद्को खबर, अर्कोतिर दाइ सम्पर्कविहीन । परिवारका लागि प्रत्येक क्षण भारी बन्दै गएको छ । घरको एक मात्र सहारा र कमाउने व्यक्ति नै बेपत्ता भएपछि कुमारकी आमा झन् विक्षिप्त बनेकी छन् । छोराको खबर पर्खिंदापर्खिंदै उनी रोएर बेहोस हुने अवस्थामा पुगिसकेकी छन् । ‘दाइको केही खबर आउँछ कि भनेर दिनरात पर्खिरहेका छौँ,’ कुमारी भन्छिन् । दाइको खोजीमा परिवारका सदस्यहरू शिक्षण अस्पताल (टिचिङ), वीर अस्पतालदेखि प्रहरी चौकीसम्म धाइरहेका छन् । कतै अस्पतालमा दाइ भेटिन्छन् कि, कतै बेपत्ताको सूचीमा उनको नाम छ कि भन्ने आशामा उनीहरू ठाउँ–ठाउँ पुगिरहेका छन् ।

प्रहरी चौकीमा नाम टिपाइसकेपछि पनि उनीहरूको खोजी रोकिएको छैन । मोबाइलमा सामाजिक सञ्जाल खोल्छन्, बाढीपछि उद्धार गरिएका मानिसका भिडियो हेर्छन् र भिडभित्र दाइको अनुहार खोज्छन् ।

रसुवा र त्रिशूली क्षेत्रमा अझै धेरै मानिस सम्पर्कविहीन रहेको खबरले परिवारलाई एउटा झिनो आशा दिएको छ । धेरै मानिसहरू उद्धार भइरहेका छन् भन्ने खबरले कुमार पनि कतै सुरक्षित अवस्थामा भेटिने विश्वास उनीहरूमा अझै बाँकी छ । ‘म ठीक छु ।’ कुमारको  त्यही एउटा वाक्य सुन्नका लागि परिवार अहिले अस्पतालदेखि प्रहरी चौकीसम्म भौंतारिरहेको छ । 

अरूलाई बचाउन निस्किएका मिलन र विक्रम कहाँ छन् ?

बाढी बढ्दै गएपछि आफू मात्र सुरक्षित हुनेभन्दा अरूलाई पनि सचेत गराउनुपर्ने जिम्मेवारी सम्झिएर मिलन खरेल क्याम्पबाट बाहिर निस्किए । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत काभ्रेका मिलनलाई अन्तिमपटक गोदाम क्षेत्र आसपास देखिएको जानकारी परिवारले पाएको छ । 

बाढी आउन थालेपछि उनीसहित विक्रम सापकोटा अरूलाई सतर्क गराउन बाहिर निस्किएको बताइएको छ । ‘मिलनसँगै रहेका जितेन्द्र सर ज्यान जोगाउँदै जंगलको बाटो भएर धुन्चे पुगेको जानकारी आएको छ,’ परिवारका सदस्य भन्छन्, ‘तर मिलन खरेल र विक्रम सापकोटा त्यसपछि कहाँ पुगे, उनीहरू कुन अवस्थामा छन् भन्ने अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।’

फोन बज्छ कि भन्ने आशामा मोबाइल परिवारको हातमै हुन्छ । सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका मानिसका तस्बिर र भिडियो देख्दा उनीहरूको नजर त्यही पुग्छ–कतै मिलन त छैनन् । 

मिलनको मोबाइलको अन्तिम लोकेसन राम्चे देखिएको जानकारी परिवारले पाएको छ । उनीहरू राम्चेबाट सुरक्षित स्थानतर्फ अघि बढेको हुन सक्ने अनुमान गरिएको छ । तर, अनुमानले मात्र परिवारको मनमा शान्ति आएको छैन । बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजीमा अस्पताल, सामाजिक सञ्जाल र प्रहरी चौकीमा आफन्तको घुइँचो लागेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा बेपत्ता आफन्तको खोजीका लागि सयौं बढीले नाम टिपाइसकेका छन् । कोही अस्पतालका वार्ड चहारिरहेका छन्, कोही प्रहरीसँग जानकारी लिइरहेका छन् भने कोही सामाजिक सञ्जालमा सार्वजनिक भएका उद्धारका दृश्यहरूमा आफन्तको अनुहार खोजिरहेका छन् ।

कसैलाई आमाको खबर चाहिएको छ, कसैलाई श्रीमान्को, कसैलाई छोराको । कुमार, सरोज, मिलन र विक्रमको परिवार पनि यही भिडमा खबरको प्रतीक्षामा छ । उनीहरू जस्तै थुप्रै परिवार अहिले अस्पताल, प्रहरी चौकी र घटनास्थल वरपर आफन्त भेटिने आशामा कुरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर