
रौतहट : जिल्लाको उत्तरी भेगमा अवस्थित चन्द्रपुर नगरपालिका वडा नं. २, जुडीबेलास्थित एक एकीकृत कृषि फर्मको गाईगोठमा शनिबार बिहान भीषण आगलागी हुँदा सात वटा चौपाया मरेका छन् । आगलागीबाट ठूलो परिमाणमा भौतिक तथा पशुधनको क्षति भएको छ ।
स्थानीय कृषक नरराज आचार्यले सञ्चालन गर्दै आएको आचार्य एकीकृत कृषि फर्मको गाईगोठमा शनिबार बिहान करिब ५ बजेको समयमा अचानक सल्किएको आगोले गोठलाई पूर्ण रूपमा लपेटेको थियो ।
घटनाको जानकारी बिहान ६:१० बजे प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बरुणकुमार रायको कमाण्डमा प्रहरी टोली तुरुन्त घटनास्थलतर्फ प्रस्थान गरेको थियो । घटनास्थल पुगेको प्रहरी टोली र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयास एवं सक्रियतामा बिहान ६:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीले दिएको प्रारम्भिक विवरणअनुसार आगलागीमा परेर मरेका चौपायामा ४ वटा गाई, २ वटा गाईका बाच्छा र १ वटा भैंसी गरी कुल ७ वटा चौपाया रहेका छन् ।
आगलागीबाट गम्भीर घाइते अवस्थामा रहेका २ वटा गाई र १ वटा खसीलाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका पशुहरूको उपचार प्रक्रिया अगाडि बढाइएको छ ।
आगलागीका कारण गोठमा रहेका दाना, पराल, संरचना तथा चौपायासहित करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, समयमै आगो नियन्त्रणमा लिन सकिएकाले कुनै मानवीय क्षति भने हुन पाएन ।
आगलागी कसरी र कुन कारणले भयो भन्नेबारे अझै स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा विशेष मुचुल्का टोली खटिएको छ ।
उक्त टोलीले घटनास्थलको गहन निरीक्षण गरी क्षतिको यकिन विवरण संकलन गर्नुका साथै घटनाको वास्तविक कारणबारे थप अनुसन्धान अगाडि बढाएको छ ।