मंसिर गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावबाट नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी नयाँ शक्तिको रुपमा उदाएका छन् । नयाँ दलको उदयसँगै ठूला दलहरु सशंकित देखिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले नयाँ शक्तिको उदयले स्थिरतामा धक्का दिन सक्ने टिप्पणी गरेका छन् । पोखरेल दुई दलीय व्यवस्थाको पक्षपाती हुन् । मुलुकमा दुई दल मात्रै रहने व्यवस्थाको पक्षमा निरन्तर वकालत र कसरत गर्दै आएका पोखरेलले नयाँ शक्तिको उदयलाई गलत भनी समाजमा स्थापित गराउन खोजिरहेका छन् । यही बेला नयाँ शक्तिको सरकारमा सहभागिताबारे पनि आम चासो बढेको छ । तर, नयाँ शक्तिहरु बोलिरहेका छैनन् । बरु एक सिट प्रत्यक्षमा जितेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालको संसदमा पुनः सांसद किनबेचको खेल हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिले अनेक संकेत गर्छ ।
सांसद किनबेचको खेल हुन सक्ने चित्र बहादुर केसीको अभिव्यक्तिले २०५१ सालको संसदलाई सम्झाउँछ । ०५१ मा दलहरु धेरै र कुनै पनि दललाई सरकार बनाउन धेरै दलको समर्थन चाहिने स्थिति थियो । अझ निर्णायक शक्तिको रुपमा रहेको, सरकारको नेतृत्व गरिरहेको पार्टीका सांसदहरु नै दल फेरि–फेरि सरकार बनाउन अग्रसर हुन्थे । त्यसबेला सांसद किनबेच गरेर सरकार बनाएको जस्ता टिप्पणी हुने गर्दछन् । इतिहासका साक्षी केसीले त्यही समय सम्झिएका हुन् । समाज र नेताहरुले सम्झाउँदा सम्झाउँदै, इतिहास जान्दा जान्दै नयाँ शक्तिले कस्तो भूमिका संसदमा खेल्नेछन् भन्ने आम चासो छ । उदाएका नयाँ दल चौथो शक्तिका रुपमा देखिँदैछन् । उनीहरु ठूला दलहरुको गतिविधिमाथि प्रश्न उठाउँदै उदाएका हुन् । भ्रष्टाचार, बेतिथी, महंगी, सार्वजनिक सेवाको ढिलासुस्ती महंगो शिक्षा र स्वास्थ्यका कुरा उठाएर उदाएका हुन् । आफ्नो धरातल नभुलेर नयाँ शक्तिले भूमिका खेल्नुपर्नेछ । अब उनीहरु विधि निर्माण गर्ने ठाउँमा छन् कस्ता विधि निर्माण गर्छन भन्ने विषय अहम छ ।
यो बेला सरकारमा जाने ललिपप ठूला दलहरुले देखाएका छन् । सरकारमा जानै हुन्न भन्ने होइन, संसदले नै सरकार गठन गर्छ र सरकारले कार्यकारी भूमिका खेल्छ । यसमा सहभागी हुन सबै संसदहरु उत्तिकै जिम्मेवार छन् । तर, चौथो शक्तिको रुपमा पठाएको सरकारमा जान हो भन्न सकिन्न । सरकारमा जाने म्यान्डेडका लागि १३८ सांसद चाहिन्छ । उसो त १३८ कसैले ल्याएका छैनन् । यो बेला साना दलहरुलाई साथमा लिनु ठूला दलहरुको बाध्यता हो । ठूला दलहरुको बाध्यतामा पग्लने सरकारमा गएर विगतका बाचा बिर्सने छुट नयाँ शक्तिहरुलाइ छैन् । अझ नयाँ उदय भएका दललाई संसदमा आवाज उठाउने भूमिका बढ्ता जनताले दिएका हुन् । यसकारण सारा बेतिथिका कुरा गरेर आएको शक्तिले जनतासामू परीक्षा आफैँ दिनुपर्नेछ । उनीहरुको जनताले परीक्षण गर्दैछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies