
वीरगन्ज : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका (बोर्ड) बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैठकले सहयोग रकम महानगरपालिकाका विभिन्न आन्तरिक स्रोतबाट जुटाउने निर्णयसमेत गरेको छ ।
निर्णयअनुसार महानगरपालिकाअन्तर्गतका प्रत्येक वडा कार्यालयले १ लाख २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउनेछन् । त्यस्तै, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले आफ्नो एक महिनाको तलब तथा सेवा–सुविधाबराबरको रकम बाढीपीडितका लागि प्रदान गर्नेछन् ।
महानगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट पनि मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकममा समावेश गरिने जनाइएको छ ।
भोटेकोशी बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका नागरिकलाई विपद्को कठिन परिस्थितिमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक कार्यपालिका बैठक बोलाएर सहयोग गर्ने निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले बताए ।
महानगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोगको निर्णय गरेको जनाएको छ ।