२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुग्यो

Nada
२०८३ भदौ १३ गते १७:३९
Shares
चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुग्यो

काठमाडौँ : बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा सहयोग गर्न चीनबाट सुरुङसम्बन्धी विज्ञ टोली नेपाल आइपुगेको छ ।

ncell

नेपालस्थित चिनियाँ दूतावासले केही समयअघि सामाजिक सञ्जालमार्फत चिनियाँ सुरुङ विज्ञहरूको टोली नेपाल आइपुगेको जानकारी दिएको हो । दूतावासका अनुसार टोली बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा प्राविधिक सहयोग गर्न नेपाल आएको हो ।

विशेषगरी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेकाहरूको उद्धारका लागि विशेष प्राविधिक विशेषज्ञताको आवश्यकता देखिएका बेला चिनियाँ विज्ञ टोली नेपाल आएको हो । नेपाल सरकारले पनि जटिल सुरुङ उद्धारलगायत विशेष प्राविधिक क्षमता आवश्यक पर्ने क्षेत्रमा विदेशी विज्ञको सहयोग लिने निर्णय गरेको छ ।

प्राप्त विवरणअनुसार चिनियाँ सुरुङ विज्ञहरू प्रभावित क्षेत्रमा परिचालित नेपाली उद्धार टोलीसँग समन्वय गरी उद्धार कार्यमा सहभागी हुनेछन् । उनीहरूले बाढीका कारण प्रभावित सुरुङ तथा भूमिगत संरचनाभित्रको अवस्था अध्ययन गर्नुका साथै उद्धारको सम्भाव्यता र अपनाउनुपर्ने प्राविधिक विधिबारे सुझाव तथा सहयोग उपलब्ध गराउनेछन् ।

रसुवालगायत बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्य सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन्। जटिल भूमिगत संरचनामा उद्धारका लागि विशेष प्राविधिक ज्ञान र उपकरण आवश्यक देखिएपछि नेपालले चीनसहित विभिन्न मुलुकबाट विशेषज्ञ सहयोग लिन थालेको हो ।

चिनियाँ दूतावासले सार्वजनिक गरेको सूचनामा पनि सुरुङ विज्ञहरूको नेपाल आगमनलाई यहाँ भइरहेको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउने कदमका रूपमा उल्लेख गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर