
काठमाडौँ : रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा बाढी–पहिरो गएको दुई दिनपछि सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ ।
बाढी–पहिरोका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेपछि खोज तथा उद्धारमा खटिएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो ।
उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकाली उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ । बालिकाको स्वास्थ्य अवस्था तथा उनी कसरी पहिरोमा पुरिएकी थिइन् भन्नेबारे थप विवरण खुल्न बाँकी छ ।
घटनापछि टिमुरे क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।