२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रसुवा बाढीपीडितका लागि रक्तदान, पर्सामा ८८ जनाले दिए रगत

Nada
लालबाबु बानिया
२०८३ भदौ १३ गते २१:०७
Shares
रसुवा बाढीपीडितका लागि रक्तदान, पर्सामा ८८ जनाले दिए रगत

पर्सा : मानव जीवन  बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले पर्साको धोबीनी गाउँपालिका–४, लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ह्युमन लभ च्यारिटी फन्डको आयोजनामा भएको कार्यक्रममा तीन महिलासहित ८८ जनाले रक्तदान गरेका छन् । रसुवामा भएको विनाशकारी बाढीका कारण घाइते तथा प्रभावितलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

ncell

कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताको उत्साहजनक सहभागिता रहेको थियो। विशेषगरी एकै परिवारका श्रीमान–श्रीमतीले समेत कार्यक्रममा सहभागी भई रक्तदान गरेपछि अन्य रक्तदातामा थप उत्साह देखिएको थियो । 

रक्तदान गर्नेहरूमा शिक्षक निरज पटेल र रेन्जु पटेलले एकसाथ रक्तदान गरेका थिए । त्यस्तै चित्रन्जना पटेल, हिना बेगम, रामपुर्ती साह कानु, लोकनाथ पटेल, रामानन्द ठाकुर, सुलतान मियाँ, रामबाबु पटेल, पशुराम पटेल, राजन गुप्ता, रोशन चौरसिया, उमेश साह कानु, अलियास मियाँ, अमन पटेल, प्रशान्त गुप्ता, दिनानाथ साह, झगरु पटेललगायतले मानव सेवाको भावनासहित रक्तदान गरेका थिए ।

रक्तदाताहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । 

ह्युमन लभ च्यारिटी फन्डका अध्यक्ष डा.इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान प्रमुख अतिथि तथा वडा अध्यक्ष अबास मियाँ, मनाउर अहमद र कार्यपालिका सदस्य दिनेश कलवार अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको महत्वपूर्ण सेवामध्ये एक भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे । समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा ह्युमन लभ च्यारिटी फन्डका रिजवान अन्सारी, विकास साह, अजय पटेल, मुकेश पटेल, रेयाज हुसेन, राजन कुमार बानिया, मुक्तीजहुर अन्सारी, खालिद जेया, नवसाद अन्सारी, साजित अन्सारी, समिम समानी, निरज पटेल, सत्यम गुप्तालगायतको सहभागिता रहेको थियो । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो । 

आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर