२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दलदलबीच जीवितको खोजी

Nada
जीवन शर्मा
२०८३ भदौ १४ गते ०६:३०
Shares
दलदलबीच जीवितको खोजी

काठमाडौं : रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकाको उद्धार भएको छ । खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो ।

ncell

उनीजस्तै रसुवा बाढीका कारण पुरिएका र फसेकाहरूको उद्धार जारी छ । भदौ १० गते बिहान भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका नागरिक प्रभावित भएका छन् ।

गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा गोताखोर, भत्किएका भवनमा हुने खोज, कुकुरको प्रयोगबाट गरिने खोज, हेलिकप्टरमा झुन्डिएर गरिने लङ लाइन रेस्क्यु, चिकित्सकीय टोलीसहितका अनेकौं उपाय प्रयोग भएको छ । 

प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन । घरमा फसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ । यस्तोमा पनि लोकेसन ट्र्याक गर्दै उद्धार गरिएका छन् । 

उद्धारमा पुग्न पुलपुलेसा छैन ।  पीडितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नुपर्ने अवस्था छ । यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ । 

सरकारले पनि विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई तीव्रता दिइरहेको बताएको छ । 

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार राति सामाजिक सञ्जालबाट पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।  उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न जलविद्युत् आयोजनामा फसेका २ सय ७९ जना रहेका छन् । २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् । 

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान भरिसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रभावित विभिन्न जिल्लामा हालसम्म ६७५ शव फेला परेका छन् । 

नेपाल प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपुर (न.प.पूर्व) मा १५८, नुवाकोटमा ४१, चितवनमा २४८, तनहुँमा ३१ तथा नवलपरासी (न.प.पश्चिम) मा ७५ गरी जम्मा ६६९ जनाको शव फेला परेका छन् । जसमध्ये नेपाल प्रहरीका २७ कर्मचारी सम्पर्कबाहिर रहेका छन् । प्रहरीले २३०१ जनाको उद्धार भएको जनाएको छ । 

घाइतेको उपचार, अस्थायी आवास, राहत वितरण र सञ्चार सेवा पुनःस्थापनाका कामसमेत भइरहेको छ ।  सरकारले भारत, चीन, अमेरिका, एडिबी, विश्व बैंकलगायतबाट मानवीय तथा आर्थिक सहयोग प्राप्त भइरहेको जनाएको छ । 

भारतबाट ५७ टनभन्दा बढी राहत सामाग्री प्राप्त भइसकेको र चीन, जापान, अष्ट्रेलिया लगायतका देशहरूबाट आवश्यक सामाग्रीहरू आउने क्रम जारी रहेको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । 

मन्त्री खनालले बाढी आएको स्थानभन्दा तल्लो तटीय क्षेत्रमा पानी जमेर बनेको ताल र त्यसबाट हुनसक्ने सम्भावित जोखिमबारे दुवै देशको प्राविधिक समन्वयमा निरन्तर निगरानी भइरहेको समेत बताए । 

बाढीको प्रभाव निश्चित क्षेत्रमा मात्र सीमित रहेकाले नेपालका अधिकांश प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्णतः सुरक्षित र खुला रहेको उनको भनाई छ । उनका अनुसार क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था छ ।

बढ्दै विदेशी सहयोग

भोटेकोशी बाढी प्रभावित सुरुङभित्र फसेकाहरूको उद्धार, जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग माग गरेको छ । 

बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगात ६ जिल्ला र आसपासका क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍याएको छ । गत बुधबार रसुवागढीभन्दा करिव २० किलोमिटर उत्तरमा रहेको हिमचट्टान खसेर ताल फुट्दा ल्हेन्दे खोला भिषण बाढीमा परिणत भएर भोटेकोशीमा मिसिएको थियो । 

बाढीमा फसेका नागरिकको खोज उद्धारमा सरकारले नसकेपछि हाइड्रोपावरको सुरुङमा फसेका नागरिकको खोज, तथा उद्धारलाई पारलगाउन विदेशी प्रविधि र  जनशक्तिको सहायता माग गरेको छ । सोही अनुसार छिमेकी मुलुक चीन र भारतीय प्राविधिक टोली प्रभावित क्षेत्रको फिल्डमै उत्रिसकेका छन् । छिमेकी देश चीन र भारतले यसअघि नै आवश्यक मद्दत गर्न तयार भएको बताएपनि नेपाल सरकारले शुक्रबारसम्म उनिहरूलाई आउने अनुमति दिएको थिएन ।   

चार हजारभन्दा बढी नागरिकले आफन्त हराएको सूचान सरकारपक्षलाई गराएका छन् । उनीहरूमध्ये हाइड्रको टनेलमा बढी फसेको हुन सक्ने अनुमान छ । सोही अनुसार नेपाल सरकारको तर्फबाट सबै उपयाहरू अपनाएको बताएपनि चार दिनसम्मको प्रयास पूर्ण सफल हुननसकेपछि बेपत्ताको खोजीकार्य जारी राखेको छ । 

त्रिसुली ३ ए को सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारमा नेपालको प्राविधिक जनशक्ति पर्याप्त नभएपछि चिनियाँ र भारतीय प्रविधिक टोलीको समेत सहायता लिइएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । 

बाढीमा फसेकाको उद्धारका लागि शनिबार दिउँसो भारतबाट ११ सदस्यीय सुरुङ उद्धार प्राविधिक टोली परिचालित छन् । त्यस्तै चिनियाँ विज्ञको ६ जनाको टोली बाढीग्रस्त क्षेत्रमा खटिएका छन् । 

विदेशी विज्ञ टोली हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेअनुसार चिन र भारतीय प्राविधिक टोली घटनास्थलमा आएको बताए । 

टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गरेको मन्त्री खनालले बताए । ‘विदेशी टोली र निजी हेलिकप्टर परिचालन ‘एकीकृत कमाण्ड’ मार्फत गरिएको छ,’ मन्त्री खनालले भने, ‘भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक तथा उद्धार टोलीहरूलाई अनुमति दिइएको छ ।’ 

संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्ने भनिएको छ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने भनिएको छ । सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको अनुमतिमा उनीहरू बाढीग्रस्त क्षेत्रमा खटिएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । 

विपद्मा परेकाहरूको खोज र उद्धारका साथै फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि समेत छिमेकी राष्ट्रको प्राविधिक सहयोग मागिएको सरकारले जनाएको छ । 

अन्तर्राष्ट्रिय दूतावासहरूसँग समन्वय गरी पर्यटकका परिवारलाई सूचना दिने र शव पहिचान तथा फिर्ता पठाउने प्रक्रिया सहज बनाइएको परराष्ट्रमन्त्री खनालले बताए । ‘रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ,’ उनले भने, ‘यसका लागि डिएनए परीक्षण र रिपोर्टिङमा सहयोग पु¥याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको छ ।’  

बाढीका कारण भएको भयानक मानवीय तथा भौतिक क्षतिको विस्तृत तथ्यांक भने अझै आउन सकेको छैन । बाढी गएको चार दिनसम्म नेपाल सरकारले खोज तथा उद्दारलाई प्रभावकारी बनाउन नसकेको प्रभावित जिल्लाका नागरिकहरूको गुनासो बढ्न थालेको छ । 

करिब १५ हजार घर बाढीले बगाएको प्रारम्भिक तथ्यांक आएपनि सरकारले आधिकारिक रूपमा कति क्षति भएको भन्ने सूचना अझै दिन नसक्नु सराकारी संयन्त्र परिचारलमा कमजोरी भएको विज्ञहरू बताउँछन् । 

विपद्बाट सिर्जित समस्याको स्तर हाम्रो बुताभन्दा बाहिर रहेका अवस्थामा सरकारले विदेशी प्राविधिक टोली परिचालन समयमै गर्न नसक्नु सरकारको कमजोरी रहेको विपद विज्ञ मान थापाले बताए । 

‘युएनको मातहत रहने गरी अन्तराष्ट्रिय खोज तथा उद्दार एडभाइजरी ग्रुपसँग मात्रै सहयोग मागेको थियो भने हामीले धेरै नागरिक बचाउन सक्थ्यौं,’ उनले मध्यान्हसँग भने, ‘त्यसमा सरकारको एक पैसा पनि खर्च हुँदैनथ्यो, उनीहरूले नै सबै खर्च व्यहोरेर पठाउँथे । तर सरकारले त्यसतर्फ किन ध्यान दिएन ।’

यो विपद् हामीले कल्पना गरेको र क्षमता भन्दा धेरै ठुलो भएको उनको बुझाइ छ । ‘विपद्मा प्रविधिको विकासमा पूर्व सूचनाको अभाव भयो,’ विज्ञ थापाले भने, ‘चाइना पक्षबाट समयमै पूर्वसूचना भएको भए यति ठुलो मानवीय क्षति व्यहोर्नुपर्दैन थियो ।’ विपद्को समयमा सरकारले भनेका सन्देशलाई नागरिक स्वयंले नपत्याउने कारण पनि मानवीय क्षति बढी हुने गरेको थापाको बुझाइ छ ।

ताजा खबर

सम्बन्धित खबर