२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मस्जिद–मदरसा बने राहत संकलन केन्द्र

Nada
२०८३ भदौ १३ गते २२:०४
Shares
मस्जिद–मदरसा बने राहत संकलन केन्द्र

काठमाडौं : रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा गएको बाढी तथा त्यसबाट उत्पन्न मानवीय संकटमा राहत पुर्‍याउने उद्देश्यले देशभरका मस्जिद तथा मदरसामा शुक्रबार राहत रकम संकलन गरिएको छ ।

ncell

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तथा आवश्यकता पहिचान गरी घटनास्थलमै पुगेर राहत सामग्री वितरण गर्ने अभियानसमेत अघि बढाइएको छ ।

पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनका अनुसार हालसम्म देशभरका तीन सयभन्दा बढी मस्जिद–मदरसा आबद्ध व्यक्ति तथा प्रतिनिधिसँग सम्पर्क भएको छ । तीमध्ये कतिपयले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेका छन् भने कतिपय जम्मा गर्ने प्रक्रियामा छन् । केहीले स्थानीय आवश्यकता पहिचान गरी घटनास्थलमै पुगेर राहत सामग्री वितरण गर्ने तयारी गरिरहेका छन् । 

हुसैनले बाढी आएको भोलिपल्ट बिहानदेखि नै ‘मस्जिदबाट बाढीपीडितलाई राहत सहायता अभियान’ नामबाट सामाजिक सञ्जालमार्फत राहत अभियान सुरु गरेका थिए । उनका अनुसार अभियानमा सुरुदेखि नै केही युवाले साथ दिइरहेका छन् भने देशभरका मुस्लिम समुदायबाट सकारात्मक समर्थन प्राप्त भइरहेको छ ।

यो कुनै निश्चित संस्था वा संगठनको मात्र अभियान नभएको स्पष्ट गर्दै हुसैनले प्रत्येक नागरिकले आफ्नो क्षमताअनुसार अभियानमा सहभागी हुन सक्ने बताए ।

‘यस अभियानमा सहयोग गर्ने प्रत्येक व्यक्ति यसको सदस्य हो। कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले राहत सामग्री उपलब्ध गराउन सक्छ र कसैले स्वयं घटनास्थलमा पुगेर सेवा गर्न सक्छ,’ उनले भने । 

बाढीपीडितको पुनस्र्थापना पूरा नभएसम्म अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

पूर्वमन्त्री हुसैनले २०७२ सालको विनाशकारी भूकम्पपछि मुस्लिम समुदाय, मस्जिद, मदरसा तथा विभिन्न सामाजिक संस्थाले प्रभावित जिल्लामा पुगेर गरेको राहत तथा उद्धार कार्यको स्मरण गरे । 

त्यतिबेला आफू संविधानसभा सदस्य रहेको उल्लेख गर्दै उनले सयौँ सांसद, मन्त्री तथा प्रधानमन्त्री तहका व्यक्तिसँग समन्वय गरी राहत वितरणमा भूमिका निर्वाह गरेको बताए ।

२०७२ सालको भूकम्पपछि खोज, उद्धार तथा राहत वितरणमा सक्रिय इस्लामी संघ नेपाल, जमियते उलेमा, जमिअत अहले हदीसलगायत संस्थासँग समन्वय गरी आफूले महिनौँसम्म राहत अभियानमा काम गरेको उनको भनाइ छ ।

उनका अनुसार त्यसबेला १३ जिल्लामा सयौँ ट्रकभन्दा बढी राहत सामग्री वितरणमा आफू प्रत्यक्ष रूपमा सहभागी भएका थिए। उद्धारका क्रममा तीन दिनसम्म भग्नावशेषमा पुरिएका तीनजनालाई जीवितै उद्धार गर्न सफल भएको तथा ५० भन्दा बढी शव भग्नावशेषबाट निकालिएको अनुभवसमेत उनले सुनाए ।

भूकम्पपछिको उद्धार कार्यमा टर्की, हल्याण्ड, अमेरिका र भारतबाट आएका टोलीसँग समन्वय गरेको स्मरण गर्दै हुसैनले विपत्तिको समयमा नेपालका विभिन्न समुदाय र संस्थाले मिलेर गरेको मानवीय सेवा अहिलेको राहत अभियानका लागि पनि प्रेरणादायी रहेको बताए ।

उनले रामेछापको प्रीति भन्ने विकट दलित बस्तीमा राति २ बजे राहत सामग्री पुर्‍याउँदाको जोखिमपूर्ण यात्रा पनि स्मरण गरे। टुटेफुटेका बाटामा ढुंगा राख्दै, पानी परिरहेका बेला जाडोमा कठ्याग्रिंदै खराब सडक र प्रतिकूल मौसमका कारण जंगलकै बाटोमा पुगेर प्रीतिका बासिन्दालाई एक बस राहत सामग्री हस्तान्तरण गरेको घटना उनले सुनाए ।

विभिन्न जिल्लाबाट राहत अभियान तीव्र

हुसैनका अनुसार अहिले पनि इस्लामी संघ नेपाललगायत विभिन्न मुस्लिम सामाजिक तथा धार्मिक संस्था राहत अभियानमा सक्रिय छन् । इस्लामी संघ नेपालको टोली राहत सामग्री लिएर नुवाकोट पुगेको उनले जानकारी दिए । त्यस्तै धनुषा मुस्लिम समाजले पनि राहत सामग्रीसहित नुवाकोटतर्फ पुगेर सहयोग गर्ने प्रयास गरेको उनले बताए ।

देशभरका मस्जिद तथा मदरसामा राहत संकलन अभियान सञ्चालन भइरहेको र बाढीपीडितको पुनस्र्थापनासम्म मुस्लिम समुदायले आफ्नो क्षमताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता विभिन्न जिल्लाबाट प्राप्त भइरहेको हुसैनले बताए ।

ताजा खबर

सम्बन्धित खबर