२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्दै बाढीपीडितको सहयोगमा जुट्दै कतारका नेपाली

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ १४ गते १२:१९
Shares
मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्दै बाढीपीडितको सहयोगमा जुट्दै कतारका नेपाली

दोहा, कतार : नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठुलो धनजनको क्षति भएपछि कतारमा रहेका नेपाली संघसंस्था तथा समुदायले मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्दै राहत तथा उद्धारका लागि सहयोग जुटाउन थालेका छन् ।

ncell

नेपालमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै कतारमा विभिन्न मितिमा आयोजना गर्न घोषणा गरिएका तीज, सांस्कृतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम धमाधम स्थगित हुन थालेका छन् । कार्यक्रम स्थगितसँगै त्यसका लागि संकलन भएको रकम तथा थप आर्थिक सहयोगसमेत बाढी–पहिरो प्रभावितको राहत तथा उद्धारमा परिचालन गर्ने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतार र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर ४ मा आयोजना हुने भनिएको तीज कार्यक्रम स्थगित गरिएको छ । नेपालबाट चर्चित गायिका शान्तिश्री परियारलगायत कलाकारको सहभागितामा आयोजना हुने उक्त कार्यक्रम बाढी–पहिरोको विपत्तिका कारण स्थगित गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै, पाल्पाली सेवा समाज कतारले गत अगस्ट २८ मा आयोजना गर्ने भनिएको ‘रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम’ पनि स्थगित गरेको छ । आगामी सेप्टेम्बर ११ मा आयोजना गर्ने भनिएको लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको कार्यक्रमसहित गुल्मी सेवा समाज कतार, मोना कतार, गण्डकी प्रदेश समन्वय परिषद्लगायत विभिन्न संघसंस्थाले घोषणा गरेका कार्यक्रमहरू पनि स्थगित भएका छन् ।

कार्यक्रम स्थगित गर्ने क्रमसँगै कतारमा रहेका नेपाली संघसंस्थाले राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन अभियानलाई समेत तीव्रता दिएका छन् । नेपाल सरकारले आधिकारिक रूपमा क्युआर कोड सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेपछि कतिपय संस्थाले कार्यक्रमका लागि संकलन गरेको रकम नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेका छन् ।

कतिपय संस्थाले कार्यक्रम स्थगित गरी आफ्नो जिल्ला, समुदाय तथा सामाजिक संस्थामार्फत कतारमा रहेका नेपालीका क्याम्प तथा कार्यस्थलमा पुगेर आर्थिक सहयोग संकलन गर्ने र उक्त रकम नेपाल सरकारको सम्बन्धित खातामा जम्मा गर्ने तयारी गरेका छन् । त्यस्तै, म्याग्दी प्रवासी नेपाली संघ (मोना) लगायत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्जालमा आबद्ध संस्थाहरूले आफ्ना अन्तर्राष्ट्रिय संरचना र एनआरएनए एनसिसी कतारमार्फत सहयोग गर्ने तयारी गरिरहेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलगायत विभिन्न सांस्कृतिक, सामाजिक तथा सामुदायिक संस्थाले पनि आफ्ना कार्यसमिति, सदस्य तथा नेपाली समुदायमार्फत सहयोग संकलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने अभियान अघि बढाएका छन् । व्यक्तिगत तहबाट पनि कतारमा रहेका नेपालीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उल्लेख्य रकम सहयोग गरिरहेका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिगत रूपमा भइरहेको सहयोगको रकम ठूलो बन्दै गईरहेको छ ।

एनसिसी कतारसहित कतारमा रहेका विभिन्न नेपाली संघसंस्थाले विपद्को यस घडीमा मनोरञ्जनभन्दा राहत तथा उद्धारलाई प्राथमिकता दिन कतारवासी नेपालीलाई आग्रह गरेका छन् । कार्यक्रम स्थगित गर्दै राहत तथा उद्धारका लागि सहयोग जुटाउने कतारका नेपालीको सक्रियताले प्रवासमा रहे पनि मातृभूमिमा परेको दुःख र विपत्तिमा नेपाली समुदाय एकजुट भएर साथमा उभिएको सन्देश दिएको छ ।

मनोरञ्जनका कार्यक्रम रोक्दै त्यसका लागि छुट्याइएको समय, स्रोत र रकमसमेत विपद् प्रभावितको सहयोगमा लगाउने क्रमले प्रवासी नेपालीको मातृभूमिप्रतिको भावनात्मक सम्बन्धलाई समेत प्रतिविम्बित गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर