
काठमाडौँ : नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै नेता केसीले विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको बताएका छन् ।
पीडितहरूको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी गराउँदै नेता केसीले भैरमकोट, केउरिनी, बुढासिंह घाट र त्रिशूली बजार क्षेत्रका हजारौँ नागरिक विस्थापित भएर विद्यालय तथा कभर्ड हलमा शरण लिइरहेको जानकारी दिए ।
उनकाअनुसार त्रिशूली नदी पारिपट्टिका क्षेत्रहरूमा हालसम्म विद्युत सेवा अवरुद्ध छ भने अस्पतालहरूमा जेनेरेटरको अभावमा उपचार सेवा प्रभावित भएको छ ।
नेता केसीले राहत सामग्री संकलन भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको दाबी गरे । उनले विगतका भूकम्प र कोभिड महामारीमा जस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न र सुरक्षा निकायलाई उद्धारमा मात्र केन्द्रित गर्न सुझाव दिए ।
चिलिमे क्षेत्रको सुरुङमा नुवाकोटका एक इन्जिनियरसहित करिब २ सय जना प्राविधिक तथा कामदारहरू फसिरहेको उल्लेख गर्दै नेता केसीले उद्धारमा ‘युद्धस्तर’ मा काम हुन नसकेको बताए ।
उनले भने, काठमाडौँबाट पठाइएका राहत सामग्रीहरू आर्मी क्याम्प र सभा हलहरूमा थुप्रिएर बसेका छन्, तर पीडितले म्याट्रेस र ओढ्ने कपडा समेत पाएका छैनन् । चीन सरकारले उद्धारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदा पनि सरकारले आवश्यक समन्वय नगर्नु दु:खद् छ । प्रधानमन्त्री गएर फर्किएपछि कुनै ठोस प्रगति देखिएको छैन । सरकार छ भन्ने अनुभूति जनताले गर्न पाएका छैनन् ।’
प्रधानमन्त्री र गृहमन्त्रीको प्रभावित क्षेत्र भ्रमणलाई लक्षित गर्दै उहाँले उच्चस्तरीय भ्रमण ‘फोटो खिच्न’ मा मात्र सीमित भएको टिप्पणी गरे । नेता केसीले विपद्को यो घडीमा पार्टीका नेता-कार्यकर्ताहरूलाई कुनै पनि राजनीतिक प्रचारबाजी वा पहिचानबिना इमानदार भएर मानवीय सेवामा जुट्न आग्रह गरेका छन् ।