
काठमाडौं : रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ ।
फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङवेशी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालकाअनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो ।
त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेंसी जोड्ने सडक खुलाएको उनले जानकारी दिए । उनकाअनुसार हाल साना सवारी साधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् । ठुला सवारीसधान सञ्चालनका लागि भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको उनले जानकारी दिए ।
खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको उनको भनाइ छ । केही खण्डमा सडक सामान्य अवस्थामा रहेपनि बाढीले वास आउट गरेका स्थानमा भने सवारी सञ्चालनमा कठिनाइ रहेको उनले बताए । ती खण्डमा लेदो हटाउने, ग्राभेल राख्ने र आवश्यक स्थानमा अस्थायी संरचना बनाउने काम भइरहेको उनको भनाइ छ ।
सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सडक सञ्चालन गर्नका लागि परिचालन गरिएको उनले जानकारी दिए । अन्य क्षतिग्रस्त स्थानमा समेत आवश्यक उपकरण परिचालन गरिएको उनको भनाइ छ ।