
काठमाडौँ : महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्का कारण परिवारका सदस्य गुमाएका व्यक्तिको मानसिक स्वास्थ्य र सामाजिक पुन:स्थापनालाई उद्धार तथा राहतकै महत्वपूर्ण पक्षका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।
मन्त्रालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा मन्त्री वादीले नेपाल रेडक्रस सोसाइटीले विपद् सुरु भएदेखि नै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताइन् । तत्कालै आवश्यकताअनुसार परिचालन भएको रेडक्रसको भूमिकाप्रति उनले धन्यवादसमेत व्यक्त गरिन् ।
मन्त्रालयले विपद् प्रभावित नागरिकका आवश्यकताअनुसार विभिन्न संघ-संस्थासँग समन्वय गरेर काम गरिरहेको जानकारी दिँदै उनले रेडक्रससँगको सहकार्य प्रभावकारी रहेको बताइन् ।
विपद्मा आफन्त गुमाएका परिवारका सदस्यमा शोक तथा मानसिक तनावको अवस्था उत्पन्न हुन सक्ने भएकाले उनीहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने मन्त्री वादीको भनाइ छ । विशेष गरी अभिभावक गुमाएका बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै उनीहरू हराउने, बेवारिसे हुने वा अन्य जोखिममा पर्न सक्ने अवस्थाप्रति सम्बन्धित संयन्त्र सचेत रहनुपर्ने उनले बताइन् ।
विपद्को अवस्थामा महिलामाथि हुन सक्ने हिंसाका घटना रोकथाम तथा प्रभावित महिलाको सुरक्षाका लागि मन्त्रालय संवेदनशील रहेको पनि उनले स्पष्ट पारिन् ।
रेडक्रसका संयन्त्रले अभिभावकविहीन बालबालिका तथा हिंसाको जोखिममा रहेका महिलाको पहिचान र संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री वादीले जोड दिइन् । आवश्यक सहयोगका लागि मन्त्रालयसँग समन्वय गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरिन् ।
प्रभावित क्षेत्रको अवस्था र विपद्बाट पीडित व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै मन्त्री वादीले संकटबाट उत्पन्न समस्या समाधान गर्न राज्य संयन्त्र र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताइन् ।