तुलनात्मक रुपमा यसपटकको निर्वाचन शान्तिपूर्ण रुपमा लगभग सकिएको छ । केही स्थानमा पुनःमतदान गर्नुपर्ने बाहेक अन्यत्र शान्तिपूर्ण निर्वाचन हुन सक्नु लोकतन्त्र परिपक्क बन्दै गएको संकेत हो । लोकतान्त्रिक प्रक्रिया र पद्धति बलियो हुँदा निर्वाचन नियमित प्रक्रिया मात्रै हुने गर्छ । निभर्यताका साथ मतदाताले मतदान गर्छन् र पराजित हुनेले पनि सहज रुपमा स्वीकार्छन् । तर, लोकतान्त्रिक प्रकृया संस्थागत हुन नसकेका मुलुकहरुमा चुनाव हुनै नसक्ने र हुँदा पनि शान्तिपूर्ण रुपमा सम्पन्न नहुने समस्या आउने गर्छ । हाम्रै विगतले पनि निर्धारित समयमा चुनाव हुन नसक्ने र हुँदा पनि पराजय स्वीकार्न नसकेका थुप्रै उदाहरण छन् । हरेक चुनावमा धाँदली भएको निष्कर्ष राजनीतिक दलका नेताहरुले निकाल्ने गरेका छन् । निर्वाचन पश्चात् सरकार गठनमा त्यसको असर पर्ने गरेको छ ।
तर यसपटक निर्धारित र नियमित समयमै निर्वाचन भयो । निर्वाचनमा ठूला दलहरुले सत्ता र विपक्षी गठबन्धन भएर प्रतिस्पर्धामा सहभागी भए । नयाँ दलहरुले गठबन्धनबिनै ठूलो सफलता हात पारे । काठमाडौं सहित केही शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, पश्चिम तराईमा नागरिक उन्मुक्ति र पूर्वी मधेशमा जनमत पार्टीको उदय भयो । यो चुनावले कुनैपनि दललाई बहुमत दिएन । नयाँ सरकार संयुक्त हुने भयो । त्यसका लागि दलहरुले गृहकार्य शुरु गरिसकेका छन् । ठूलो दल बनेको नेपाली कांग्रेस वा अर्को दल नेकपा एमालेले सरकार बनाउँछ भन्ने अबको मुख्य चासो हो । तर त्यसअघि चुनावी समीक्षा आवश्यक हुन्छ ।
किनकि यसपटकको जनादेशले केही सन्देश प्रष्ट दिएकोछ । ठूला दलहरुले सहकार्य गरेर मात्रै अगाडि बढ्नुपर्ने मत पाएका छन् । कुनै दलभित्र मात्रै नभएर अन्तरदलीय सहकार्य यो जनादेशको मुख्य सन्देश हो । अघिल्लो चुनावले जस्तै कुनै गठबन्धन वा दललाई यसपटक प्रष्ट बहुमत प्राप्त छैन । सँगै केही प्रवृत्तिबारे समेत यो चुनावले प्रष्ट पारेको छ । मुख्य प्रवृत्ति भनेको जनताको भावना र चाहना अनुसार काम गर्न नसक्ने व्यक्ति जतिसुकै ठूलो गठबन्धन र पदमा भए पनि जित्न सक्दैनन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री बालकृष्ण खाँण, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले हारले त्यो पुष्टि हुन्छ । पराजय बेहोर्ने वर्तमान र पूर्वमन्त्रीहरुको सूची लामै बन्छ । तसर्थ चुनावको समीक्षा गरिरहँदा यसतर्फ पनि ध्यान दिन जरुरी छ । किनकि चुनावको समीक्षा पनि लोकतन्त्रको एउटा महत्वपूर्ण अन्तर्वस्तु हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies