
काठमाडौं : नेपाली कांग्रेसले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनकाअनुसार बैठकले बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा पार्टीका कार्यकर्ता र संगठनात्मक संयन्त्रलाई परिचालन गर्दै सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । उनले बैठकमा विशेषगरी विपद्पछिको खोज, उद्धार र राहत वितरणको विषयमा गम्भीर समिक्षा भएको बताए ।
उनले संकटको समयमा पार्टी सरकार र पीडित परिवार दुवैको साथमा रहेको स्पष्ट पार्दै उद्धार कार्यलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रवक्ता चालिसेले जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकतामा समेत सरकारलाई आग्रह गरे । उनका अनुसार बैठकले मृत्यु भएका व्यक्तिको शवलाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
उनले बाढी प्रभावित क्षेत्रका नागरिकको खानपान तथा स्वास्थ्यको विषयलाई गम्भीरताका साथ लिन समेत सरकारलाई आग्रह गरे ।