२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

Nada
२०८३ भदौ १४ गते १८:१४
Shares
बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ : नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ ।

ncell

टेलिकमले आइतबार अर्थात् २०८३ भदौ १४ गते रसुवाका पाँच र नुवाकोटका दुईवटा बीटीएस साइट सञ्चालनमा ल्याएको हो। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

रसुवामा नेपाल-चीन सीमास्थित रसुवा बोर्डर, अपर सान्जेन, छापथोके, जिपजिपे र गत्लाङ बीटीएस साइट सञ्चालनमा आएका छन्। नुवाकोटमा चारघरे र चारघरे मुलाबारी बीटीएस साइट पुनः सञ्चालन गरिएको छ ।

रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल-चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः उपलब्ध भएको छ ।

अपर सान्जेन बीटीएस साइटबाट चिलिमे, लामागाउँ र आमाछोदिङमो गाउँपालिका–५ लगायतका क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

छापथोके बीटीएस साइटले बेत्रावती, काउली, त्रिशूली–३ ‘बी’, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रलाई मोबाइल सेवामा जोडेको छ ।

यसैगरी, जिपजिपे बीटीएस साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५ सहित धारापानी तथा देउरालीडाँडामा मोबाइल सेवा सञ्चालन भएको छ ।

गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजिम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

नुवाकोटका चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट सञ्चालनमा आएसँगै विदुर नगरपालिका–१२ र १३ मा पनि मोबाइल सेवा पुनः सुरु भएको छ ।

विपद्का समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन प्राविधिक टोली निरन्तर परिचालित रहेको उल्लेख गर्दै टेलिकमले सेवा नियमित र भरपर्दो बनाउन काम भइरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर