२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

क्यानडामा पहिलोपटक गंगा आरती आयोजना

नेपालका विपद्मा ज्यान गुमाएकाको आत्मशान्तिको कामना

Nada
२०८३ भदौ १४ गते २१:१५
Shares
क्यानडामा पहिलोपटक गंगा आरती आयोजना

ओटावा : क्यानडामा रहेका नेपाली समुदायले पहिलोपटक ओटावास्थित प्रसिद्ध रिड्यु नदीको किनारमा सन्ध्याकालीन गंगा आरती आयोजना गरेका छन् ।

ncell

जनैपूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रम नेपालमा हालै आएको प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना तथा संकटमोचनको उद्देश्यले आयोजना गरिएको हो ।

विगत पाँच वर्षदेखि जनैपूर्णिमा सञ्चालन समितिले सामूहिक रूपमा रक्षाबन्धन तथा जनै फेर्ने कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष विशेष रूपमा सन्ध्याकालीन गंगा आरतीसमेत थप गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालबाट आउनुभएका ज्योतिष तथा वास्तुविद् डा. बाशुदेव कृष्ण शास्त्री, आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष शिरोमणि दवाडी तथा क्यानडामै रहेका चर्चित भजन गायक एवं संगीतकार पण्डित धर्मदास शास्त्रीको विशेष सहभागिता रहेको थियो ।

पण्डित धर्मदास शास्त्रीको अगुवाइमा उहाँको परिवारले प्रस्तुत गरेको भजन तथा सांगीतिक आरतीले सहभागीहरूलाई भक्तिभावमा डुबाएको थियो ।

डा.बाशुदेव कृष्ण शास्त्रीले नेपालको पशुपति क्षेत्रलगायत विभिन्न नदी किनारमा सञ्चालन हुँदै आएको गंगा आरतीले धार्मिक तथा सांस्कृतिक जागरणमा योगदान पुर्‍याएको स्मरण गर्दै क्यानडामा पनि यसलाई निरन्तरता दिन सुझाव दिए । 

आध्यात्मिक पत्रकार समाजका अध्यक्ष दवाडीले आध्यात्मिक चेतनाले नैतिक जागरण ल्याउने उल्लेख गर्दै नयाँ पुस्तालाई धार्मिक तथा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताए । 

कार्यक्रममा चर्चित चिकित्सक डा. विशाल ज्ञवाली तथा ओटावा विश्वविद्यालयका प्राध्यापक एवं अनुसन्धाता डा. भानुभक्त आचार्यले यस्ता सामूहिक धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विदेशमा रहेका नेपालीबीच एकता बढाउनुका साथै नयाँ पुस्तालाई आफ्ना परम्परा र संस्कृति सिकाउन सहयोग पुग्ने धारणा राखे । 

विगत पाँच वर्षदेखि डिल्लीराम पौडेल तथा इशा पौडेल भट्टराईले जनैपूर्णिमासम्बन्धी उक्त कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर