२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दोलखामा बृहत् रक्तदान कार्यक्रम, १५ पिन्ट रगत संकलन

Nada
राजकुमार भुजेल
२०८३ भदौ १४ गते २१:१७
Shares
दोलखामा बृहत् रक्तदान कार्यक्रम, १५ पिन्ट रगत संकलन

दोलखा : ‘रक्तदान गरौं, जीवन बचाऔं, मानवता जोगाऔं’ भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उज्यालो भविष्य, दोलखाको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज, जिल्ला शाखा दोलखा र नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा दोलखाको सहकार्य तथा प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

ncell

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक तथा स्वयंसेवी रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेका थिए । संकलित रगतले जिल्लामा उपचाररत बिरामी तथा आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने व्यक्तिहरूको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले रक्तदान स्वास्थ्य सेवासँग मात्र नभई मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको महत्वपूर्ण अभियान भएको बताएका थिए । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न स्वास्थ्य समस्याका कारण जुनसुकै बेला रगतको आवश्यकता पर्न सक्ने भएकाले नियमित रूपमा रक्तदान अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

आयोजकका अनुसार कार्यक्रमले जिल्लामा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै युवापुस्ता तथा आम नागरिकलाई स्वयंसेवी रक्तदानतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

उज्यालो भविष्य, दोलखाका अध्यक्ष राजन बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि, नेपाल स्वयंसेवी रक्तदाता समाज, नेपाल रेडक्रस सोसाइटी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष तारानाथ चौलागाईं, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख मनोजकुमार लामा, नेपाली सेनाका कर्नेल लोकसागर कटवाल, सशस्त्र प्रहरी बल दोलखाका प्रमुख सुरेश कोइराला, प्रमुख अनुसन्धान अधिकृत धीरज बानियाँलगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रमले ‘रक्तदान जीवनदान, मानवताको महान अभियान’भन्ने सन्देशलाई थप प्रभावकारी बनाउँदै समाजमा सहयोग र मानवीय सेवाको भावना विकास गर्न सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर