
पर्सा : छोरीको बिहेको खर्च जुटाउने सपना बोकेर त्रिशूलीको देवीघाट पुगेका पर्साको पोखरिया नगरपालिका–७ रानीगञ्ज रहरिया गाउँका सोनालाल पण्डित रसुवा–भोटेकोशीको विनाशकारी बाढीमा बेपत्ता भएपछि परिवारले ६ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीका क्रममा बेपत्ता भएका पण्डितको लामो समयसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले बाध्य भएर कुशबाट उनको प्रतीकात्मक आकृति बनाई सोमबार अन्तिम संस्कार गरेको हो ।
हिन्दु परम्पराअनुसार पण्डितका एकमात्र छोरा आठ वर्षीय अमित कुमार पण्डितले आफ्ना बुबाको कुशको प्रतीकात्मक शवमा दागबत्ती दिएका थिए । दागबत्ती दिँदै अमित भावुक बनेर रोएका थिए ।
सोनालालका पाँच छोरी र एक छोरा छन्। उनका एक छोरीको विवाह यसअघि नै भइसकेको थियो। दोस्रो नम्बरकी छोरीको विवाह आगामी फागुनमा तय भएकाले विवाहको खर्च जुटाउन उनी करिब दुई महिनाअघि त्रिशूलीको देवीघाटमा घर निर्माणसम्बन्धी सेल्ट्रिङ ठेक्काको काम गर्न पुगेका थिए ।
छोरा अमितका अनुसार उनका बुबा यसअघि पनि सोही क्षेत्रमा ठेक्काको काम गर्दै आएका थिए । त्यही क्रममा दुर्घटनामा परी अपांग भएपछि केही समय घरमै बस्दै आएका पण्डित छोरीको विवाह खर्च जुटाउने उद्देश्यले पुनः काममा गएका थिए ।
सोनालालसँग गाउँकै सात जना मजदुरसमेत काम गरिरहेका थिए। उनका भान्जा श्रीराम पण्डितका अनुसार बाढी आउनुभन्दा करिब १० मिनेटअघि मात्रै भोटेकोशीमा बाढी आउन लागेको सूचना उनीहरूले पाएका थिए ।
श्रीरामले आँखामा आँसु झार्दै भने, ‘मैले आफ्नै आँखाअगाडि पाँच मिनेटमै मामालाई विनाशकारी बाढीले बगाएर लगेको देखे ।’
उनका अनुसार बाढी आउने सूचना पाएपछि सोनालाललाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । तर उनले आफू लामो समयदेखि त्यही ठाउँमा बस्दै आएको र यसअघि ठूलो बाढी नआएको भन्दै दुईतले घरमा चढ्ने बताएका थिए ।
‘कुरा गर्दागर्दै बाढी आयो । हामी सबै माथि भाग्यौँ। तर पाँच मिनेटमै आएको विनाशकारी बाढीले मामाले चढेको दुईतले घर नै बगाएर लग्यो,’श्रीरामले भने ।
त्यसपछि उनीहरू ज्यान जोगाएर सुरक्षित स्थानतर्फ भागेका थिए । परिवार तथा आफन्तले विभिन्न स्थानमा खोजी गरे पनि सोनालालको अवस्था पत्ता लाग्न सकेन ।
बेपत्ता भएको छ दिनसम्म पनि कुनै जानकारी नआएपछि परिवारले सोमबार आफन्त तथा स्थानीयवासीको उपस्थितिमा कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको हो ।
दाहसंस्कारका क्रममा परिवारजन भावुक बनेका थिए ।
यद्यपि सोनालालको वास्तविक अवस्था अझै अज्ञात छ । परिवारले सरकारले उनको खोजी कार्यलाई निरन्तरता दिने र शव भेटिएमा पहिचान तथा परिवारलाई बुझाउने विश्वास राखेको छ ।
परिवार तथा स्थानीयवासीले बेपत्ता पण्डितको खोजीलाई थप प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।