
रौतहट : रौतहटको यमुनामाई गाउँपालिकाका करार तथा दैनिक ज्यालादारी कर्मचारीले म्याद थप र नियुक्तिपत्र नपाएको भन्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । गाउँपालिकाअन्तर्गत कार्यरत कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरी सोमबार गाउँपालिकाकी उपाध्यक्ष अनुराधा कुमारीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको साउन १ गतेदेखि भदौ १५ गतेसम्म पनि करार नियुक्ति तथा सम्झौतापत्र नपाएको उल्लेख छ । नियुक्ति तथा म्याद थपसम्बन्धी कुनै आधिकारिक प्रमाणबिना काम गर्नुपर्दा सेवा प्रवाहमा अन्योल र व्यावहारिक कठिनाइ उत्पन्न भएको कर्मचारीहरूको भनाइ छ ।
कर्मचारीहरूले भदौ १५ देखि १८ गतेसम्मको अल्टिमेटम दिँदै उक्त अवधिभित्र नियुक्तिपत्र उपलब्ध नगराए वा म्याद थपको प्रक्रिया अघि नबढाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
तोकिएको समयभित्र माग सम्बोधन नभए गाउँपालिका कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, ल्याब, नगर प्रहरी र शैक्षिक शाखाको कामकाज पूर्ण रूपमा ठप्प पार्दै कार्यालयमा तालाबन्दी गर्न बाध्य हुने उनीहरूले बताएका छन् ।
ज्ञापनपत्रमा गाउँपालिका कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य, प्राविधिक तथा सरसफाइ शाखामा कार्यरत ३५ भन्दा बढी कर्मचारीले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि पालिका प्रशासनले नियुक्ति नवीकरण नगरेपछि आफूहरू आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरूले बताएका छन् ।
यता, गाउँपालिका नेतृत्वले भने कर्मचारीका समस्या वार्तामार्फत समाधान गर्ने प्रयास गरिने जनाएको छ ।