
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–११ हिमालीवासस्थित हिमाली जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रवेश प्रसाद सिंहलाई ससम्मान बिदाइ गरिएको छ । अनिवार्य अवकाश प्राप्त गरेका सिंहलाई सोमबार विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले भव्य कार्यक्रमबीच सम्मानपूर्वक बिदाइ गरेका हुन् ।
विद्यालय प्राङ्गणमा आयोजित बिदाइ कार्यक्रममा सिंहले करिब ३० वर्षसम्म शिक्षण सेवामा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले विद्यालयको शैक्षिक विकासमा शिक्षक सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनको योगदान विद्यालय परिवारले सधैँ स्मरण गरिरहने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद भुजेलले लामो समयसम्म विद्यालयमा अध्यापन गर्दै शैक्षिक क्षेत्रमा पुर्याएको सिंहको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
त्यस्तै, बिजयपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर यादवले विद्यालयको शैक्षिक अवस्था सुधारमा सिंहको भूमिका सराहनीय रहेको बताए। पेट्भर्वा माध्यमिक विद्यालयका प्रधानाध्यापक राधेश्याम यादवले सिंहले शिक्षकको जिम्मेवारीसँगै विद्यालयमा अभिभावकको भूमिकासमेत निर्वाह गरेको स्मरण गर्दै उनको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा विद्यालय परिवारका तर्फबाट शिक्षक सिंहलाई मायाको चिनो तथा कदरपत्रसहित सम्मान गरिएको थियो । लामो समयसम्म विद्यालयमा सेवा गरेका प्रिय शिक्षकलाई बिदाइ गर्ने क्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरू भावुक बनेका थिए ।
करिब तीन दशक लामो शिक्षण यात्रापछि अवकाश प्राप्त गरेका शिक्षक सिंहलाई वक्ताहरूले आगामी जीवनका लागि सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका थिए ।