२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

गोली प्रहारपछि हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

Nada
विनोद निगम
२०८३ भदौ १५ गते २१:३६
Shares
गोली प्रहारपछि हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

नवलपरासी : भारतबाट लागूऔषध हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको आरोपमा दुई भारतीय नागरिक पश्चिम नवलपरासीबाट पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले १५८ ग्राम हेरोइनसहित लागूऔषध कारोबारमा प्रयोग भएको मोटरसाइकल र मोबाइल फोन बरामद गरेको जनाएको छ ।

ncell

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका–१ मा भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा फेला पारेपछि रोक्न खोजेको थियो । प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि उनीहरूले मोटरसाइकलसहित भाग्न खोजेका थिए ।

भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको जनाएको छ । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथ तथा मोटरसाइकल खानतलासी गरेको थियो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित सेखौलीका ३३ वर्षीय गिरिजेश श्रीवास्तव र निचलौलका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन् । 

प्रहरीका अनुसार उनीहरूको साथबाट १५८ ग्राम हेरोइन, दुई थान मोबाइल फोन र भारतीय नम्बर यूपी ५६ एएच ६१८९ को मोटरसाइकल बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जनाले भारतबाट हेरोइन ल्याएर लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको खुलेको प्रहरीको दाबी छ । उनीहरूको संलग्नता, लागूऔषधको स्रोत तथा कारोबारको थप सञ्जालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले सीमावर्ती क्षेत्रबाट हुने लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको जनाएको छ ।

uae

सम्बन्धित खबर