२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भोटेकोशी बाढीपीडितका लागि खोरथली सामुदायिक वनको सहयोग

Nada
राजकुमार भुजेल
२०८३ भदौ १५ गते २१:३८
Shares
भोटेकोशी बाढीपीडितका लागि खोरथली सामुदायिक वनको सहयोग

दोलखा : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दोलखाको खोरथली सामुदायिक वन उपभोक्ता समूहले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।

ncell

भीमेश्वर नगरपालिका–३ र ६ मा रहेको खोरथली सामुदायिक वन उपभोक्ता समूहले बाढीपीडितका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न जिल्ला प्रशासन कार्यालय दोलखामार्फत राष्ट्रिय वाणिज्य बैंक, चरिकोटलाई अनुरोध गरेको हो ।

रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएका छन् । बाढीमा दोलखा जिल्लाका नागरिकहरू समेत दर्जनौं जना सम्पर्कविहीन भएका छन् भने केही नागरिकको उद्धार गरिएको छ । रोजगारी तथा विभिन्न कामको सिलसिलामा रसुवा पुगेका दोलखाली नागरिकसमेत विपद्को चपेटामा परेपछि जिल्लामा रहेका परिवारजनमा चिन्ता बढेको छ ।

यस्तो विपद्को समयमा प्रभावित नागरिक तथा परिवारलाई राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराएको हो। विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै समूहले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय दोलखाले खोरथली सामुदायिक वन उपभोक्ता समूहबाट प्राप्त २ लाख ५५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिदिन राष्ट्रिय वाणिज्य बैंक, चरिकोटलाई पत्राचार गरेको छ । 

खोरथली सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष तथा प्रवक्ता श्याम गौतमले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा सहयोगका लागि २ लाख ५५ हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए । उनले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएकाले सामुदायिक वनको तर्फबाट सहयोग गरिएको बताए ।

रसुवाको बाढीमा दोलखाली नागरिकसमेत प्रभावित भएको अवस्थामा जिल्लाभित्रका विभिन्न संघसंस्था, स्थानीय तह, सामुदायिक संस्था तथा नागरिकहरूले सहयोगको हात अघि बढाउन थालेका छन्। खोरथली सामुदायिक वनको यो सहयोगले विपद्को समयमा मानवीय सहयोग र सामाजिक एकताको सन्देश दिएको छ ।

uae

सम्बन्धित खबर