२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

बेपत्ताको खोजी : मोबाइलको ‘लोकेसन’ अन्तिम आस

Nada
सपना बोहरा
२०८३ भदौ १६ गते ०६:३०
Shares
बेपत्ताको खोजी : मोबाइलको ‘लोकेसन’ अन्तिम आस

काठमाडौं : रसुवाका रोहित तामाङ सोमबार टिचिङ अस्पतालमा अत्तालिँदै आइपुगे । भोटेकोशी बाढी प्रभावितका लागि बनाइएको हेल्प डेस्कमा पुगेर उनले प्रहरीलाई आफ्नो मोबाइल देखाएर भने, ‘रोहित तामाङको अन्तिम लोकेसन टिमुरेको आसपास देखाउँछ, हेरिदिनुपर्‍यो ।’

ncell

दाइ जीवितै छन् कि भन्ने झिनो आशा बोकेर आएका तामाङले प्रहरीसँग आग्रह गरे, ‘लोकेसन टिमुरेआसपासको जंगलमा छ । कतै घाइते अवस्थामा छटपटाइरहेको पो हो कि ? प्लिज, छिटो लोकेसन ट्रयाक गरिदिनुपर्‍यो ।’

तामाङले यसअघि नै आफ्ना दाइ बाढीमा बेपत्ता भएकोबारे प्रहरीलाई जानकारी गराएका थिए । लगातार ६ दिनसम्म उनी बेपत्ता भएको स्थान आसपास खोजी पनि गरे । अस्पतालमा पहिचान हुन नसकेका शवहरूमा समेत दाइलाई खोजे । तर, कतै फेला नपरेपछि अन्ततः उनले मोबाइलको अन्तिम लोकेसन खोज्न थालेका हुन् ।

‘६ दिनसम्म लास पनि भेटिएको छैन, सम्पर्कमा पनि आएका छैनन्,’ उनले भने, ‘बाढीबाट बच्न कुनै जंगलतिर भाग्दा अलपत्र परेका छन् कि ?’ तामाङको अनुहारमा दाइ जीवितै छन् कि भन्ने आशा देखिन्थ्यो । 

उनीजस्तै बाढीमा आफन्त बेपत्ता भएका अन्य परिवार पनि अहिले मोबाइलको अन्तिम लोकेसन लिएर टिचिङ अस्पताल पुग्न थालेका छन् ।

अस्पतालमा रहेको हेल्प डेस्कमा ६५ जनाले बेपत्ता आफन्तको नाम टिपाएका छन् । मोबाइल नम्बरको अन्तिम लोकेसन र सक्रिय रहेको अन्तिम मिति हेरिदिन आग्रह गर्नेको संख्या पनि बढ्दै गएको छ । झिनो आशामा परिवारहरू मोबाइलको अन्तिम लोकेसन खोजिरहेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालका अनुसार मोबाइल टावरमा रेकर्ड हुने अन्तिम सिग्नलले बाढीबाट बेपत्ता व्यक्ति बाढी आउँदा नदी किनारमा थिए वा पहाडतर्फ भाग्दै थिए भन्ने कुरा पत्ता लगाउन सहज हुन्छ । तर, मोबाइलको चार्ज सकिएर फोन बन्द भएको अवस्थामा भने अन्तिम सिग्नल रेकर्ड नहुन सक्ने उनले बताए ।

व्यक्तिगत प्रयोजनका लागि प्राधिकरणले यस्तो डेटा ट्रयाकिङमा उपलब्ध नगराउने तर सरकारी संयन्त्र र सुरक्षा निकायले मोबाइल नम्बर तथा नेटवर्क डेटालाई खोजी र उद्धारमा प्रयोग गर्न सक्ने उनले बताए ।

बेपत्ता आफन्तको खोजीका लागि नेपाल टेलिकम, एनसेल, हुवावे, नेपाल प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र साइबर ब्युरोमा समेत फोन नम्बर दिएर ‘लास्ट लोकेसन’ हेरिदिन आग्रह गर्ने क्रम बढेको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बेपत्ता व्यक्तिको लास्ट लोकेसन अनुसन्धानका लागि एउटा माध्यम भएको बताए । ‘बाढीबाट बेपत्ता भएकाहरूका आफन्त लास्ट लोकेसन पत्ता लगाउन भन्दै आउनुहुन्छ,’ उनले भने, ‘तर, लोकेसनका आधारमा व्यक्ति त्यहाँ नहुन पनि सक्छन् ।’

बाढीप्रभावित स्थानमा प्रायः लोकेसनले काम नगर्ने उनको भनाइ छ । त्यसैले मोबाइलको अन्तिम लोकेसनलाई मात्रै आधार बनाएर बेपत्ता व्यक्तिको अवस्थाबारे निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।

अझै यकिन भएन बेपत्ताको संख्या 

रसुवामा आएको विनाशकारी बाढीका कारण सोमबारसम्म ९०३ जनाको मृत्यु पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १० हजारभन्दा बढीको उद्धार गरिएको छ । २६७ जना घाइते उपचारपछि घर फर्किएका छन् । सम्पर्कविहीनहरूको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको बताइन् । बाढीबाट बेपत्ता भएकाको संख्या भने अझै यकिन हुन सकेको छैन । प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको यकिन तथ्यांक नरहेको जनाएको छ । महतका अनुसार विपद्‍बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन छ ।

हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको उनले जानकारी दिइन् ।

‘आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्,’ उनले भनिन्, ‘उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्नेछ ।’

उनका अनुसार हाइड्रोपावर आयोजना तथा सुरुङमा उद्धार कार्य अझै जारी छ । हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रमा उद्धार गरिएको थियो । सोमबार पनि उद्धार कार्य जारी रहेको उनले बताइन् ।

विपद्‍बाट अवरुद्ध सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता महतले वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको जानकारी दिइन् । 

क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावर पनि लगभग सबै सुचारु भइसकेको उनको भनाइ छ । पुनः बाढी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको उनले बताइन् । ती स्टेसनबाट बाढीको रियलटाइम डेटा प्राप्त गर्न सकिनेछ । थप स्थानमा पनि यस्ता स्टेसन जडान गर्दै जाने तयारी भइरहेको उनले जानकारी दिइन् ।

विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ । बेपत्ता आफन्तको खोजीमा मोबाइलको अन्तिम लोकेसनले परिवारलाई केही आशा दिएको छ । तर, उद्धार तथा खोजीमा संलग्न निकायका अनुसार लोकेसनले व्यक्तिको वास्तविक अवस्थाबारे यकिन जानकारी दिन सक्दैन । त्यसैले मोबाइलको अन्तिम सिग्नल, स्थानीयस्तरबाट प्राप्त विवरण र स्थलगत खोजीलाई जोडेर मात्रै बेपत्ताको अवस्थाबारे निष्कर्षमा पुग्न सकिने अवस्था छ ।

uae

सम्बन्धित खबर