
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलबभत्ता तथा सेवा सुविधा तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ देखि चालू आर्थिक वर्ष २०८२/८३ सम्मको तलबभत्ता तथा सेवा सुविधाबापतको रकम नगरपालिकाले उपलब्ध नगराएको भन्दै कर्मचारीहरूले नगरपालिकाको कार्यालय, समनपुरमा शान्तिपूर्ण धर्नासहितका दबाबमूलक कार्यक्रम सुरु गरेका हुन् ।
वर्षौंसम्म काम गरे पनि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापन, परिवारको पालनपोषण तथा बिरामी पर्दा उपचार गर्नसमेत आर्थिक समस्या उत्पन्न भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।
सम्पूर्ण करार कर्मचारीहरूको आयोजनामा सुरु गरिएको धर्नामार्फत उनीहरूले लामो समयदेखि रोकिएको बक्यौता तलबभत्ता एकमुष्ट भुक्तानी गर्न नगरपालिकासँग माग गरेका छन् ।
कर्मचारीहरूले आफ्ना मागप्रति नगरपालिका प्रशासन र जनप्रतिनिधिहरू गम्भीर नबनेको आरोपसमेत लगाएका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा बक्यौता तलबभत्ता भुक्तानी नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उल्लेख छ ।
कर्मचारीहरूले माग सम्बोधन नभए नगरपालिकाअन्तर्गत वडा नम्बर १ देखि ५ सम्मका वडा कार्यालयहरू पूर्ण रूपमा बन्द गराउने चेतावनी दिएका छन् । साथै, नगरपालिका कार्यालय परिसरमा शान्तिपूर्ण धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनीहरूको भनाइ छ ।
आन्दोलनका कारण सर्वसाधारण सेवाग्राहीमा पर्न सक्ने असुविधा तथा त्यसबाट उत्पन्न हुने सम्भावित असरको सम्पूर्ण जिम्मेवारी नगरपालिका कार्यालयले नै लिनुपर्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।
स्थानीय तहमा वर्षौंदेखि सेवा दिँदै आएका करार कर्मचारीहरूले आफूहरूको श्रमको उचित मूल्यांकन गर्दै बाँकी पारिश्रमिक तत्काल एकमुष्ट उपलब्ध गराउन माग गरेका छन् । माग पूरा नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउँदै लैजाने उनीहरूले बताएका छन् ।
यस विषयमा गढीमाई नगरपालिका प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।