२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रस्ताव पारित

सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग गर्ने

Nada
२०८३ भदौ १६ गते १५:०९
Shares
भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रस्ताव पारित

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो मानवीय र भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ्न अपिल गरे । अध्यक्ष दाहालकाअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण उल्लेख गर्दै उनले भदौ १६ गतेसम्म ११ हजार ८ सय १४ जनाको उद्धार गरिएको र ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए ।

अध्यक्ष दाहालले बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । साथै, विपद्को समयमा ज्यानको जोखिम मोलेर उद्धारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र स्थानीय समुदायलाई धन्यवाद ज्ञापन गरे । 

राष्ट्रिय सभाको बैठकले बाढी प्रभावितका लागि एक विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । उक्त प्रस्तावमार्फत सरकारलाई घाइतेहरूको निःशुल्क उपचार गर्न, सम्पर्कविहीनको खोजी कार्यलाई तिब्रता दिन र पीडितलाई पारदर्शी रूपमा राहत वितरण गर्न आग्रह गरिएको छ । साथै, राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत भएको छ । 

अध्यक्ष दाहालले जलवायु परिवर्तनमा नेपालको भुमिका न्युन भएपनि यसको प्रतिकूल प्रभाव भोग्नुपरेको यथार्थलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको स्मरण गराए । हालै कम्बोडियामा सम्पन्न अन्तरव्यवस्थापकीय सभामा आफूले नेपालको संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको र पीडित राष्ट्रका लागि विशेष अन्तर्राष्ट्रिय कोष स्थापना गर्न माग गरेको उनले बताए ।

uae

सम्बन्धित खबर