
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिकलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राहत वितरण प्रक्रियामा संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको बताए । उनले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर तत्काल प्रभावित क्षेत्रका नागरिकसम्म राहत पुर्याउन सरकारलाई आग्रह समेत गरे । उनले बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारलाई राहत वितरणमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
उनले बाढी प्रभावित क्षेत्रमा काकाकुल हुने स्थिति सिर्जना हुन नदिन पहुँच नपुगेको वर्ग र समुदायसम्म सरकार पुग्नुपर्ने बताए । उनले विपद्को यस अवस्थामा राजनीतिक दल, सरकार, तथा नागरिक समाज एकजुट भएर प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘सरकारले स्थानीय जनप्रतिनिधिसँग कोर्डिनेसन गर्ने कुरामा कमजोरी भयो कि भन्ने लागेको छ । प्रभावित क्षेत्रको पालिकासँग, वडासँग, वडा अध्यक्षसँग, जनप्रतिनिधिसँग जोडिएर जानुपर्छ । त्यसो भयो भने छिटो पुगिन्छ । अलि ढिलासुस्ती भयो जस्तो लागेको छ । समस्या भएकोले सरकारले तिब्रताका रूपमा जानुपर्छ । अहिले पनि नागरिकले राहत नपाएको कुरा सुनिएको छ । यसमा सरकारले तदारुकताका साथ लाग्नुपर्छ । राहत वितरणमा स्थानीय तह नै परिचालन गर्नुपर्छ ।’ बाढी परि सम्पर्कविहीन भएका नागरिकको उद्धार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।