प्रमुख दलका शीर्ष नेताहरुले सत्ता निर्माणको अभ्यास शुरु गरिसकेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अगाडि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी सरकार निर्माणबारे बहसको आग्रह गरेका थिए । नेपाली कांग्रेसकै हाराहारीको शक्ति बनेको एमाले अध्यक्ष ओलीले वाम सरकारको संभावनाबारे संकेत दिएका थिए । यसमा प्रचण्डको जवाफ सार्वजनिक भएको छैन । तर प्रचण्डले सोमबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे । लगत्तै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा, प्रचण्ड र नेपालबीच अनौपचारिक सम्वाद समेत निरन्तर चलिरहेको नेताहरुले बताएका छन् । यी नेताहरुबीच फेरि पनि अहिलेकै गठबन्धनले सरकार बनाउनेबारे छलफल चलिरहेको छ ।
यदि यी नेताहरुको पहलले सार्थकता पाएमा अहिलेकै सरकारले निरन्तरता पाउन सक्ने संभावना पनिछ । गठबन्धनका दलहरुले पाएको मतको आधारमा सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउने ठाउँ बाँकी छ । किनकि यसपटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले राम्रै सिट ल्याउँदैछ । राप्रपाले पनि आफूलाई फेरि राष्ट्रिय शक्तिका रुपमा उभ्याएको छ । त्यसैले अहिलेकै गठबन्धनले बहुमत पु¥याउन र सरकार गठन गर्न सक्नेछन् । अर्कातिर एमाले नेतृत्वमा सरकार बन्न सक्ने संभावना पनि जिवित छ । किनकि यो चुनावबाट कुनैपनि दलले बहुमत ल्याउन सकेको छैन । संयुक्त सरकार बन्ने भएकाले जुनसुकै समीकरण बन्न सक्छ ।
तर जनमतकै सन्देश भने यथास्थिति होइन । अझ प्रधानमन्त्री भइसकेका नेताहरुविरुद्ध त चुनाव अगाडि ‘नो, नट अगेन’ अभियान नै चलेको थियो । पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा, तीन पटक प्रधानमन्त्री भएका ओली, दुईपटक प्रधानमन्त्री भएका प्रचण्डदेखि एकपटक प्रधानमन्त्री भएका माधवकुमार नेपालविरुद्ध समेत ‘नो, नट अगेन’ अभियान चलेको हो । जनमत पनि त्यही अभियानको भावना सम्बोधन हुनेगरी आएको थियो । रवि, राजेन्द्र, सिके र रेसमको पार्टीले अप्रत्यासित मत पाउनुको सन्देश नयाँ भन्ने नै हो । तर झलनाथ खनाल र उपेन्द्र यादव सहित केही नेता बाहेक शीर्ष नेताहरुले यसपटक पनि चुनाव जित्नुले पूर्वप्रधानमन्त्रीहरुलाई फेरि सरकारको नेतृत्व गर्ने वैधानिक बाटो खुलेको छ । अब वैधानिक बाटो टेकेर प्रधानमन्त्री हुने कि जनमतको भावना सम्बोधन गर्दै नयाँ अनुहारलाई प्रधानमन्त्री बनाउने भन्नेबारे सोच्न सकिन्छ । ठूला दलहरुलाई नै सरकार निर्माणको जनादेश भएकाले पार्टीभित्रैका फ्रेस अनुहार उठाउने अवसर पनि नेताहरुलाई छ । तर अब बन्ने सरकारको दायित्व भने जनादेशकै सम्मान हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies