
धादिङ : रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीले देशभरि नै ठुलो मानवीय र भौतिक क्षति पुर्याउँदा धादिङको सिद्धलेक गाउँपालिका पनि गम्भीर रूपमा प्रभावित भएको छ । हिमाली क्षेत्रमा ल्हेन्दे खोलाबाट सुरु भएको बाढी भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीसम्म फैलिँदा हजारौं नागरिक प्रभावित भएका छन् ।
यस विपत्तिमा परेर हालसम्म एक हजार बढीको मृत्यु पुष्टि भइसकेको छ । विपत्तिमा ४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने खर्बौं रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । यसको प्रत्यक्ष असर सिद्धलेक गाउँपालिकामा समेत परेको छ ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाका अनुसार वडा नम्बर ३, ४, ६ र ७ सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीपछि क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ भने खानेपानी आपूर्ति र विद्यालय सञ्चालनमा समेत गम्भीर समस्या देखिएको छ ।

बाढीले गाउँपालिकाभित्रका तीन वटा मोटरेवल पुल बगाएको छ भने जरे पुल, घाटबेँशी–पिपलटार पुल र फुर्केखोला–धादिङबेँशी पुलमा ठुलो क्षति पुगेको छ । साथै पाँच वटा झोलुङ्गे पुलमा समेत क्षति हुँदा स्थानीय आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
हाल अधिकांश सडक मार्ग अवरुद्ध रहेकाले मास्टर–बेलिन्टार–आदमटार–पिपलटार–माझीटार–परेवाटार सडक खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने अध्यक्ष खतिवडाले बताएका छन् । उक्त सडकको तत्काल मर्मत र स्तरोन्नति गर्न सके आपतकालीन सेवा, खाद्यान्न आपूर्ति तथा नागरिक आवागमन सहज हुने उनको भनाइ छ ।

बाढीपछि बिग्रिएका संरचनाको तत्काल मर्मत तथा पुनःनिर्माणका लागि गाउँपालिकाले संघीय तथा प्रदेश सरकारसँग सहयोग मागेको छ । अध्यक्ष खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र डिभिजन सडक कार्यालय गजुरीलाई पत्र पठाउँदै आवश्यक बजेट, प्राविधिक सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।
साथै, वैकल्पिक सडक मार्गलाई सञ्चालनयोग्य बनाउन तत्काल पहल गरिनुपर्नेमा उनले जोड दिएका छन् । विपद्को यो अवस्थामा शीघ्र पुनःस्थापना नभए स्थानीय जनजीवन थप कष्टकर बन्ने चेतावनी समेत दिइएको छ ।

