
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत दिपा कार्की र घुस रकम लिई मध्यस्थकर्ताको काम गर्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर दिपा कार्कीले 'स्ट्रक्चर एनलाइसिस' को काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोली खटिएको थियो ।
उक्त टोलीले इन्जिनियर दिपा कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुसबापत ६४ हजार रुपैयाँ लिइसकेको अवस्थामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय थली, डाँछीबाट भदौ १५ गते नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका उनीहरूलाई मंगलबार विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।