२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र दाइको अझै पत्तो लागेन

Nada
अन्जान गुभाजु
२०८३ भदौ १६ गते १९:३८
Shares
साउदीबाट फर्किए सरोज, तर बाढीले बगाएका बुबा र दाइको अझै पत्तो लागेन

काठमाडौं : नुवाकोटको विदुर–१०, भैँसेका सरोज तामाङ भदौ १० गते साउदी अरबको रियादमा ड्युटी जान तयारी गर्दै थिए । बरिस्ताको रूपमा कार्यरत उनले सामाजिक सञ्जाल फेसबुक हेर्दा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको खबर देखे । खबरले उनको मनमा चिसो पस्यो । घरमा फोन गरे, तर सम्पर्क हुन सकेन ।

ncell

केही समयपछि उनले आफ्नो घरसमेत बाढीले बगाएको खबर पाए । परिवारसँग सम्पर्क गर्ने निरन्तर प्रयास गरे पनि तत्काल कुनै जानकारी पाउन सकेनन् । अन्ततः भदौ १० गते बेलुकीतिर परिवारसँग सम्पर्क भयो । तर उनले सुनेको खबर झनै भयावह थियो ।

बाढीले उनको घर बगाउनुका साथै ७५ वर्षीय बुबा रामबहादुरलाई समेत बगाएको परिवारबाट जानकारी पाए । उनका ठाइँला दाइ सन्जाले बुबालाई बाढीले बगाएको देखेको बताइएको छ । त्यस्तै, रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा काम गर्ने उनका ३२ वर्षीय साइँला दाइसञ्जय तामाङ पनि बाढी आएपछि सम्पर्कविहीन भएको खबर सरोजले पाए ।

एकैपटक घरबारविहीन हुनु, वृद्ध बुबालाई बाढीले बगाएको खबर सुन्नु र अर्का दाइको अवस्थासमेत अज्ञात हुनु सरोजका लागि त्यो क्षण शब्दमा बयान गर्न नसकिने पीडाको क्षण बन्यो ।

परिवारको अवस्था थाहा पाएपछि सरोजले आफू कार्यरत कम्पनीलाई घटनाबारे जानकारी गराए। परिवारका सदस्य सम्पर्कविहीन भएको र घरसमेत बाढीले बगाएको जानकारी पाएपछि कम्पनीले उनलाई नेपाल फर्किन अनुमति दियो ।

उनी भदौ १२ गते काठमाडौं आइपुगे । नेपाल आएपछि उनले काठमाडौंका विभिन्न अस्पतालमा खोजी गरे । बाढी तथा बेपत्तासम्बन्धी सरकारले जारी गरेका सूचना पनि निरन्तर हेरे । तर अहिलेसम्म न बुबाको अवस्था पत्ता लागेको छ, न दाइको ।

'बुबाको आशा मारेँ, दाइसञ्जयचाहिँ भेटिन्छन् कि भन्ने आशा अझै छ,' सरोजले मध्यान्हसँग भने ।

उनको आवाजमा थकान र निराशा प्रस्ट महसुस हुन्थ्यो । आफ्नै आँखाअगाडि घरबार गुमाउनु, बुबा र दाइको अवस्था थाहा नहुनु र परिवारका सदस्यहरू छरिएर अनिश्चित अवस्थामा बस्नुपर्ने बाध्यता उनका लागि अर्को पीडा बनेको छ ।

‘सरकारले बेपत्ताको अवस्था छिटो पत्ता लगाइदिए हुन्थ्यो’

सरोजका अनुसार उनका परिवारका केही सदस्य काठमाडौंमा छन् भने केही गाउँमै छन् । बाढीका कारण घरबार गुमेको परिवार अहिले अत्यन्त कठिन अवस्थामा छ । छिमेकका कतिपय परिवारसँग सम्पर्क भए पनि आफूहरूको परिवारमा भने अझै दुई सदस्यको अवस्था अज्ञात रहेको उनले बताए ।

'घरबार गुमाउनुको पीडा छँदैछ, त्यसमाथि आफ्नै बुबा र दाइ सम्पर्कविहीन हुँदा कस्तो पीडा हुन्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ,' उनले भने, 'म जस्तै बेपत्ता परिवारका सदस्यहरूलाई सरकारले छिटोभन्दा छिटो खोजी गरेर वास्तविक अवस्था जानकारी गराइदिए हुन्थ्यो ।'

सरोज सोमबार नुवाकोटस्थित आफ्नो गाउँ जाने तयारीमा छन् । उनले मैथिलीस्थित ब्यारेक तथा उद्धार केन्द्रमा पुगेर बुबा र दाइको खोजी तथा उद्धारसम्बन्धी जानकारी लिने बताएका छन् ।

उद्धारपछि पनि परिवारको प्रतीक्षा

बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि कतिपय परिवार अझै आफ्ना आफन्तको अवस्थाबारे अनभिज्ञ छन् ।

सरोजको परिवारको पीडा यही अवस्थाको एउटा प्रतिनिधि उदाहरण हो । विदेशमा रहेका परिवारका सदस्यले सामाजिक सञ्जाल र टेलिफोनमार्फत विपत्तिको खबर पाउने, तर आफ्नै घरपरिवारको वास्तविक अवस्था थाहा पाउन नसक्ने परिस्थिति आफैंमा गम्भीर मानवीय संकट हो ।

सरोज अहिले एउटा आशामा छन्- बुबालाई बाढीले बगाएको खबर सत्य हो कि होइन भन्ने यकिन होस् र कम्तीमा दाइ सञ्जयको अवस्थाबारे भए पनि छिटो जानकारी प्राप्त होस् ।

उनको आग्रह छ- 'बाढी तथा पहिरोमा बेपत्ता भएका नागरिकका परिवारलाई सरकारी संयन्त्रले तत्काल सम्पर्कमा ल्याओस्, बेपत्ताको खोजी तीव्र बनाओस् र उद्धार तथा खोजीको प्रगतिबारे परिवारलाई नियमित जानकारी दिइयोस् ।'

'हामीलाई धेरै कुरा चाहिँदैन, आफ्ना मान्छेको अवस्था के छ भन्ने सत्य जानकारी मात्र चाहिएको हो,' सरोजले भने ।

uae

सम्बन्धित खबर