२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

नदीमा सँगै देखेका बुवाआमाको शव, अस्पतालमा खोज्दा भेटिएन

Nada
सपना बोहरा
२०८३ भदौ १७ गते ०६:४०
Shares
नदीमा सँगै देखेका बुवाआमाको शव, अस्पतालमा खोज्दा भेटिएन

काठमाडौं : भोटेकोशीको उर्लंदो बाढीले रसुवा बेत्रावतीका तान्जिङ सिरिङ घलेका ७५ वर्षीय बुवा पाल्जे घले र ६५ वर्षीया आमा डोल्मा तामाङ घलेलाई बगायो । घरबाट ज्यान जोगाउन भाग्ने क्रममा उनीहरू बाढीमा परेका थिए । बाढीले बगाएको करिब ३० मिटर पर तान्जिङले आफ्नै आँखाले बुवाआमाको शव देखे । परिवारले अन्तिमसंस्कारका लागि शव उठाउन खोज्यो । तर प्रहरीले मुचुल्का उठाउन बाँकी रहेको भन्दै शव लैजान दिएन ।

ncell

बुवाआमाको शव तन्नाले छोपेर तान्जिङ घर फर्किए । अर्को दिन प्रहरी घटनास्थलमा पुग्यो । त्यसबेला उनले बुवाआमासँगै दाइ पनि बेपत्ता भएको जानकारी गराए । दाइ अहिलेसम्म सम्र्पकविहिन छन् । 

शुक्रबार बुवाआमाको शव शिक्षण अस्पताल ल्याइएको खबर पाएपछि तान्जिङ दिदीभिनाजुसहित काठमाडौं आए । नदीमा सँगै देखेका शव अस्पतालको शवगृहमा भेटिएनन् । उनले शवगृहमा खोजे । पोस्टमार्टममा सोधे । प्रहरीसँग बुवाआमाको शव देखाइदिन आग्रह गरे । तर अस्पतालमा देखाइएका कुनै पनि शव उनका बुवाआमाका थिएनन् । 

तीन दिनसम्म अस्पताल र जिल्ला प्रशासन कार्यालय धाएपछि उनले अन्ततः प्रहरीबाट ‘शवको व्यवस्थापन भइसकेको’ जवाफ पाए । निराश तान्जिङ मंगलबार रसुवा फर्किएका छन् । ‘हामीले खोलामा बुवा–आमाको शव देखेका थियौं । प्रहरीले लैजान दिएन,’ उनले भने, ‘त्यो दिन लैजान दिएको भए आफ्नै संस्कारअनुसार दाहसंस्कार गर्न पाउँथ्यौं ।’

बुवाआमाको बाढीमा मृत्यु भएको पीडामाथि दाइको बेपत्ता अवस्थाले परिवारलाई झन् थिचेको छ । त्यसमाथि आफ्नै आँखाले देखेका बुवा–आमाको अन्तिम संस्कारसमेत गर्न नपाएको पीडा थपिएको छ । ‘हामीलाई तीन दिन प्रहरी र प्रशासनले झुलायो,’ उनले भने, ‘आफ्नै आँखाले देखेका बुवाआमाको शवलाई अन्तिम संस्कार गर्न पाएनौं । योभन्दा ठूलो दुःख के हुन सक्छ ?’

अस्पतालको गेटबाहिर आशा

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम भवन अहिले बाढीमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूका परिवारका लागि अर्को पीडाको ठाउँ बनेको छ ।

अस्पतालको मुख्य गेटबाहिर आफन्तहरू हातमा आफ्ना प्रियजनका तस्बिर बोकेर लाइनमा छन् । भित्तामा टाँसिएका पहिचान नखुलेका शवका तस्बिरमा आफन्तहरू आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् । 

एक महिला हातमा श्रीमान्को तस्बिर लिएर प्रहरीसँग आग्रह गर्दै थिइन्, ‘मेरो श्रीमान्को शव यहीँ छ । मलाई हेर्न दिनुस् ।’

उनले अस्पतालको भित्तामा टाँसिएको तस्बिरमा आफ्ना श्रीमान्जस्तो देखिने आकृति देखेकी थिइन् । त्यही आसमा उनी पोस्टमार्टम भवनभित्र पुगिन् । टिनको स्ट्रेचरमा राखिएको शवको अनुहार पहिचान गर्न कठिन थियो । उनले नियालेर हेरिन् । तर यकिन गर्न सकिनन् । प्रहरीले सोध्यो– ‘यो तपाईंको श्रीमान्को शव हो ?’

उनका आँखा रसाए । उनले टाउको हल्लाउँदै शव पहिचान गर्न नसकेको संकेत गरिन् । भारी मन लिएर उनी बाहिरिइन् । पोस्टमार्टम भवनभित्रको अवस्था झन् कठिन छ । शव कुहिँदै जाँदा दुर्गन्ध फैलिएको छ । केहीबेर उभिनसमेत मुस्किल हुन्छ । तर आफन्तहरू त्यही दुर्गन्धबीच आफ्ना मान्छेको पहिचान खोजिरहेका छन् । प्रहरी र पोस्टमार्टममा खटिएका कर्मचारी पनि निरन्तर त्यही काममा छन् । 

भित्र कतिपय शवको पूरै शरीर छैन । कसैको शरीरको केही भाग मात्र छ । कसैको हात, कसैको टाउको त कसैको कम्मरमुनिको भाग मात्र देखिन्छ । ती शवमा रहेका कपडा, दाग, चिह्न वा अन्य पहिचानका आधारमा आफन्तहरू आफ्ना मान्छे खोजिरहेका छन् । 

कपडा र चप्पलमा खोजिँदै पहिचान

धादिङ सिद्धलेक–१ की कल्पना भट्ट गोसाइँकुण्ड जाने क्रममा भोटेकोशीको बाढीमा परिन् । उनका श्रीमान् घनश्याम भट्टसहित २९ जना दर्शनार्थी सवार गाडी बाढीले बगाएको थियो ।

पहिचान नखुलेका शवको पोस्टरमा कल्पनासँग मिल्दोजुल्दो तस्बिर देखिएपछि वडाध्यक्ष पेमा ओम्देल लामा शिक्षण अस्पताल पुगे । कल्पनाले लगाएको कपडा र चप्पलका आधारमा पहिचान गर्न उनी अस्पताल पुगेका थिए । तर शव माटो र बालुवाले ढाकिएको थियो । 

‘शव हेरेर आएँ । कपडा र चप्पल मिल्छ । तर माटो र बालुवाका कारण चिन्न सकिने अवस्था छैन,’ उनले भने, ‘पखालिदिएपछि यकिन हुन सक्छ भनेर कर्मचारीलाई अनुरोध गरेको छु ।’

उनका अनुसार वडाबाटै तीन जना बेपत्ता छन् । ‘भित्र शव हेर्न सक्ने अवस्था छैन । दुर्गन्ध फैलिएको छ,’ उनले भने, ‘केही समय राख्न सके केही शवको पहिचान हुन्थ्यो होला । तर शव गल्दै गएका छन् ।’

अन्तिम संस्कारको अधिकार

पोस्टमार्टम भवनमा रहेका शवहरू केवल तथ्यांक होइनन् । ती कसैका बुवा हुन्, कसैकी आमा, कसैका श्रीमान्, श्रीमती वा छोराछोरी। प्रत्येक शवसँग एउटा परिवारको प्रतीक्षा जोडिएको छ । 

तर पहिचान नखुलेका शव लामो समय राख्न सम्भव नभएपछि व्यवस्थापनको दबाब पनि बढेको छ । सोमबार मात्र शिक्षण अस्पतालमा पहिचान हुन नसकेका ८७ शवलाई प्रहरीले भ्यानमा राखेर व्यवस्थापन गरेको छ । 

शव बोकेको भ्यान पोस्टमार्टम भवनबाट बाहिरिँदा गेटमा उभिएका आफन्तका आँखामा आँसु भरिए । उनीहरूका लागि त्यो शव बोकेको भ्यान मात्र थिएन । त्यो आफ्नो मान्छेको पहिचान र अन्तिम संस्कार गर्ने अधिकार गुम्दै गएको क्षण थियो ।

uae

सम्बन्धित खबर