आमनिर्वाचन–२०७९ को एक प्रमुख सन्देश हो, जनमत पार्टीको उदय । चन्द्रकान्त (सिके) राउत नेतृत्वको यो पार्टी खुलेको धेरै भएको छैन । तर राष्ट्रिय राजनीतिक शक्तिका रुपमा चुनावबाट अनुमोदन हुने लगभग पक्का छ । जनमत पार्टीले राष्ट्रिय दल बन्न आवश्यक समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाइसकेको छ । अन्तिम नतिजा प्रकाशन हुँदा समेत अहिलेकै तीन प्रतिशत कायमै राख्ने संभावना बढी छ । सुरुवाति दिनको गणनामा रहेको निराशाजनक नतिजा बदल्दै जनमत पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेको थियो । प्रत्यक्षतर्फ अध्यक्ष सिके राउत आफैले जितेका छन् । राउतले सप्तरी–२ बाट चुनाव जितेका हुन् । अझ मधेश आन्दोलनको नेतृत्व गर्ने नेता उपेन्द्र यादवलाई पराजित गरेकाले राउतको जितलाई महत्वका साथ हेरिएको छ ।
उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिक तर्फ पनि राम्रै मत पाइरहेको छ । जसपा राष्ट्रिय दल कायमै रहनेमा कुनै शंका छैन । तर यादवको हार अनि राउतको जितसँगै जनमत पार्टीको उदयलाई मधेश केन्द्रीत राजनीतिमा चासोका साथ हेरिएको छ । यसका पछाडि हारजितको मात्रै कुरा नभएकाले पनि चासोका साथ हेरिएको हो । झण्डै दशकदेखि राउतलाई पृथकतावादी अभियान चलाएको आरोप थियो । ‘स्वराज’को नारा लगाएर गतिविधि गरेको आरोपमा पटकपटक राउत पक्राउ परेका थिए । तर राउतले बाटो बदले । संविधानभित्रै संसदीय राजनीतिको सम्झौता गरेको सिके राउतले जनमत पार्टी बनाए । अहिले त्यही जनमत पार्टीले मधेशका अन्य राजनीतिक शक्तिलाई पछाडि पारेको छ ।
जसपाकै अध्यक्ष यादवलाई पराजित गरेर राउतले चुनाव जित्दा अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राष्ट्रिय दल बन्ने संभावना देखिदैन । जबकी लोसपामा मधेश आन्दोलनको विरासत बोक्ने राजेन्द्र महतोहरुदेखि महन्थ ठाकुर समेत छन् । नेपाली कांग्रेसको राजनीति त्यागेर मधेश केन्द्रीत आन्दोलनमा लागेका ठाकुर नेतृत्वको पार्टीले समानुपातिक तर्फ अत्यन्तै न्यून मत पाइरहेको छ । तर सद्भावना पार्टीको विरासत बोक्ने लोसपादेखि ०६३ सालको मधेश आन्दोलनबाट उदाएको जसपालाई समेत धक्का दिदै सिके राउत उदाएका छन् । यसले पुराना नेताहरुको पृष्ठभूमि देखि राउतले उठाएको एजेण्डा समेतलाई ध्यान दिन जरुरी छ । अझ मधेश केन्द्रीत शक्तिहरु कमजोर हुँदा ठूला दलहरुको बर्चश्व तोडिएको तर्फ पनि उत्तिकै गहन रुपमा हेरिन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies