२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

विभिन्न जलविद्युत् आयोजनाका ४९ कर्मचारीसँग अझै सम्पर्क हुन सकेन : विद्युत् प्राधिकरण

Nada
२०८३ भदौ १७ गते १३:५६
Shares
विभिन्न जलविद्युत् आयोजनाका ४९ कर्मचारीसँग अझै सम्पर्क हुन सकेन : विद्युत् प्राधिकरण

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजना, वितरण केन्द्र, सबस्टेसन तथा प्रसारण लाइनमा कार्यरत ४९ कर्मचारी तथा कामदारसँग सम्पर्क हुन नसकेको जनाएको छ । विपद्का परेका उनीहरूको खोज तथा उद्धार कार्य चौबीसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको हो ।

ncell

प्राधिकरणका अनुसार देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक सुरक्षा गार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षा गार्ड, माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रका ४२ कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् ।

त्यसैगरी रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसनका एक सुरक्षा गार्ड तथा चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका एक कर्मचारीको अवस्था पनि सम्पर्कमा आउन सकेको छैन ।

यसबीच प्राधिकरणले जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र आवश्यक उपकरण हवाई माध्यमबाट प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने अवस्थाबीच उपलब्ध स्रोतसाधन अधिकतम परिचालन गरी उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

त्रिशूली नदीमा ढुंगा, बालुवा र माटोलगायतका पदार्थ थुप्रिँदा पानीको सतह बढेको तथा टनेलको मुख्य प्रवेशद्वार र पावर हाउस क्षेत्र पुरिएको प्राधिकरणको भनाइ छ । पावर हाउससम्म पुग्न टनेलबाट प्रवेश गर्ने बाटो निर्माण भइरहेको छ। बाटो बनाउने क्रममा भेटिएका ठूला ढुंगा विस्फोट गराएर हटाउने कामसमेत भइरहेको छ ।

टनेलको प्रवेशद्वार नदीको पानीको सतहभन्दा तल रहेकाले टनेल तथा निर्माण गरिएको प्रवेश मार्गमा जम्मा भएको पानी पम्पमार्फत बाहिर निकाल्ने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भदौ १७ गते दिउँसो १ बजेसम्म उद्धार तथा पहुँच निर्माणका यी कार्य जारी रहेका छन् । सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीलाई निरन्तरता दिइएको छ ।

uae

सम्बन्धित खबर