
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार गर्न नसक्नुको कारण संसदमा स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार सुरुङभित्र बाढीको पानी मात्र नभई ठूलो मात्रामा माटो र लेदो पसेर सुरुङ पूर्ण रूपमा थुनिएका कारण उद्धार कार्य निकै कठिन भएको हो । उनले यस्तो प्रकृतिको विपत्तिमा तत्काल उद्धार गर्न सकिने प्रविधि विश्वमै उपलब्ध नरहेको दाबी गरे ।
संसदमा बोल्दै शाहले नेपालमा आएको विपत्ति विशेष प्रकृतिको रहेको बताए । सामान्यतया पहिरो खसेपछि त्यसलाई पन्छाएर उद्धार गर्ने गरिए पनि यहाँ बाढीसँगै आएको हिलो र माटोले सुरुङ पूर्ण रूपमा बन्द गरेको उनको भनाइ थियो ।
‘हाम्रो टनेलमा आएको विपत् विशेष किसिमको छ। विश्वभरिका एक्सपर्टहरूले पहिरो पन्छाएर उद्धार गर्ने गरेका छन् । तर यहाँ पहिरो खसेको होइन, बाढीसँगै हिलो माटोले पूर्णरूपमा टनेलहरू थुनिएका छन्,’ शाहले भने ।
उनले यस्तो अवस्थाको उद्धारका लागि आवश्यक विशेषज्ञता र प्रविधि नेपालसँग मात्र नभई अन्य देशसँग पनि पर्याप्त नरहेको बताए । तत्काल प्रयोग गरेर उद्धार गर्न सकिने प्रविधि अहिलेसम्म कसैसँग नरहेको उनको दाबी थियो ।
सुरुङ बाहिर पनि बाक्लो लेदो जमेकाले उद्धारकर्मीलाई काम गर्न कठिन भएको शाहले बताए । उनका अनुसार लेदोमा नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई उभिनसमेत कठिन थियो । उद्धारकर्मीहरूले सुतेरै सुरुङतर्फ पुग्ने प्रयास गरेको उनले संसदमा जानकारी दिए ।
त्यस्तै, एक्साभेटर तथा हेलिकोप्टर राख्न सक्ने अवस्था पनि सुरुमा नरहेको शाहले बताए । उपकरण अड्याउन सक्ने स्थिर स्थान तयार भएपछि मात्र उद्धार तथा राहतको काम अघि बढाइएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले अहिलेको विपत्तिलाई अत्यन्तै गम्भीर र असाधारण प्रकृतिको भएको उल्लेख गर्दै उद्धार कार्यमा देखिएको कठिनाइबारे संसदलाई जानकारी गराएका हुन् ।