
काठमाडौँ : नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले यस्तो ढिलाइलाई गम्भीर र मानवीय संवेदनाविपरीतको विषयका रूपमा प्रस्तुत गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै आङ्देम्बेले अझै ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन रहेको विवरणप्रति सरकार गम्भीर हुनुपर्ने बताए । समय बित्दै जाँदा सम्पर्कविहीनको संख्या थपिन सक्ने अवस्थातर्फ पनि उनले सदनमार्फत सरकारको ध्यान खिचेका छन् ।
उनका अनुसार अहिलेको अवस्थामा सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विषय नै खोज तथा उद्धार हो । विशेष गरी सुरुङभित्र फसेका नागरिकलाई सुरक्षित बाहिर निकाल्ने कार्यमा भएको ढिलाइ स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
आङ्देम्बेले विपद्को सुरुवाती चरणदेखि नै उद्धार क्षमताको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे। त्यसका लागि सरकारी संयन्त्रसँगै निजी क्षेत्रको क्षमता उपयोग गर्न तथा आवश्यकता देखिए अन्तर्राष्ट्रिय प्रविधि र दक्ष उद्धार टोलीसमेत तत्काल परिचालन गर्नुपर्ने उनले बताए ।
उनले सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोत, प्रविधि र जनशक्तिको समन्वयबाट उद्धार अभियान प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।