२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भोटेकोशी-त्रिशूली बाढी : २२ लाख टन भग्नावशेष थुप्रिएको युएनडिपीको अनुमान

Nada
२०८३ भदौ १७ गते १५:३६
Shares
भोटेकोशी-त्रिशूली बाढी : २२ लाख टन भग्नावशेष थुप्रिएको युएनडिपीको अनुमान

काठमाडौं : भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी र लेदो बहावका कारण प्रभावित क्षेत्रमा कम्तीमा २२ लाख टन भग्नावशेष थुप्रिएको युनाइटेड नेसन डेभलप्मेन्ट प्रोग्राम (युएनडिपी)को प्रारम्भिक अनुमानले देखाएको छ । गत भदौ १० मा हिमनदी भत्किएर आएको बाढीले हिलो र ढुंगासहित नदी तटीय क्षेत्रका बस्तीहरूमा ठुलो विनास निम्त्याएको छ । बाढीमा परी हालसम्म नेपालमा १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।

ncell

जलविद्युत र भौतिक संरचनामा ठूलो क्षति बाढी र पहिरोको चपेटामा परेका क्षेत्रहरूबाट हालसम्म कुल १०,४५१ जना मानिसको जीवितै उद्धार गरिएको छ । प्रकोपका कारण सञ्चालनमा रहेका ११ वटा जलविद्युत केन्द्र र एउटा सौर्य उर्जा प्लान्ट पूर्ण रूपमा बन्द भएका छन्, जसबाट कुल ४३१.१ मेगावाट विद्युत उत्पादन ठप्प भएको छ । यसका साथै, निर्माणाधीन अवस्थामा रहेका र कुल ४७० मेगावाट क्षमता लक्ष्य राखिएका अन्य १५ वटा जलविद्युत आयोजनाहरूमा पनि क्षति पुगेको छ ।

सरकारी तथ्यांक अनुसार देशका ६ जिल्लाका १७ स्थानीय तहमा गरी कुल ८४,२७० जना नागरिक यस प्रकोपबाट प्रत्यक्ष प्रभावित भएका छन् । प्रभावितमध्ये अधिकांश स्थानीय तहहरू ग्रामीण तथा पहाडी भेगमा रहेका छन्, जहाँ ६७.४ प्रतिशत नागरिक कृषि क्षेत्रमा आबद्ध छन् । नेपालको मुख्य मनसुनी बाली लगाउने समय जुनदेखि सेप्टेम्बरसम्म रहने भएकाले, कृषिमा आश्रित परिवारका लागि बालीनाली, पशुधन र कृषियोग्य जमिनमा भएको यो क्षतिले खाद्य सुरक्षा र पारिवारिक आम्दानीमा लामो समयसम्म गम्भीर असर पार्ने देखिन्छ । प्रभावितमध्ये लगभग प्रत्येक चार जनामा तीन जना (७५ प्रतिशत) मानिसहरू पहिलेदेखि नै जीविकोपार्जन, आधारभूत सेवामा पहुँच र कमजोर जीवनस्तरका कारण जोखिमपूर्ण अवस्थामा बाँचिरहेका थिए ।

नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि कियोको योकोसुकाले त्रिशूली करिडोरका समुदायका लागि यो अत्यन्तै पीडादायी विपत्ति भएको बताएकी छन् । उनले भनिन्, "परिवारहरूले आफ्ना प्रियजन, घर र जीविकोपार्जनका माध्यम गुमाएका छन् र सिङ्गो समुदाय आपसमा तथा आधारभूत सेवाहरूबाट विमुख भएका छन् । तत्कालको राहत र उद्धार कार्य जारी रहँदा, पुनर्स्थापनाको कार्य सबैभन्दा बढी प्रभावित भएका मानिसहरू सम्म पुग्ने र उनीहरूलाई सुरक्षित एवं थप उत्थानशील रूपमा पुनर्निर्माण गर्न मद्दत गर्ने सुनिश्चित गर्नुपर्छ ।"

बाढीका कारण थुप्रिएको भग्नावशेषमा भवनका भत्किएका हिस्सा, घरभित्रका सामान, वनस्पति, ढुंगा र हिलो लेदो रहेका छन् । उपग्रहमा आधारित भू-दृश्यको विश्लेषण अनुसार कुल २,३५९ क्षतिग्रस्त भवनहरूबाट मात्रै ५ लाख ५६ हजार २०० टन भवनको भग्नावशेष निस्किएको छ, जुन संख्या थप क्षति पहिचान भएसँगै अझ बढ्न सक्नेछ । ढलेका भवन र हिलोको थुप्रोमुनि अझै पनि मानिसहरू फसिरहेका वा बेपत्ता रहेका कारण उद्धार टोलीहरूका लागि कार्य गर्न अत्यन्तै कठिन र खतरनाक बनेको छ । साथै, ऊर्जा पूर्वाधारमा भएको क्षतिले विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्धार कार्य र अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गर्ने कार्य अझ सुस्त बनेको छ ।

युएनडिपीले उपग्रह प्रविधि, स्थानीय इन्जिनियरिङ अनुमान र अन्य उपलब्ध तथ्यांकहरूलाई समायोजन गरी भग्नावशेषको मात्रा र स्थानको नक्सांकन गरेको हो । युएनडिपीको 'रापिडा' विधि अन्तर्गत यो प्रारम्भिक प्रतिवेदन तयार पारिएको हो, जसले सरकार र विकास साझेदारहरूलाई विपद्पछि तत्काल पुनर्स्थापनाको योजना बनाउन आवश्यक तथ्यहरू प्रदान गर्दछ ।

uae

सम्बन्धित खबर