
रौतहट : नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवा र जिल्ला नेत्रज्योति संघ शाखा कार्यालय गौरले बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
सदरमुकाम गौर–८ स्थित गौर आँखा अस्पतालमा कार्यरत कर्मचारीहरूले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको सहयोगका लागि आफ्नो दुई दिनको पारिश्रमिक बराबरको रकम कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १० लाख १११ रुपैयाँ जम्मा गरेका हुन् ।
तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका भोटेकोशी तथा त्रिशूली नदी किनारका क्षेत्रमा ठुलो जनधनको क्षति भएपछि पीडित परिवारको उद्धार तथा राहतका लागि सहयोग रकम उपलब्ध गराइएको हो ।
नेपाल नेत्रज्योति संघ, रौतहट शाखाका सचिव बच्चा यादवले बाढीका कारण उत्तरी क्षेत्रमा ठुलो संकट उत्पन्न हुँदा धेरै नागरिक घरबारविहीन भएको बताए। विपत्तिमा परेका पीडितको दुःखमा ऐक्यबद्धता जनाउँदै मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालका कर्मचारी र संघका पदाधिकारीको सहकार्यमा रकम संकलन गरी राहत कोषमा पठाइएको उनले बताए ।
यादवका अनुसार पीडितको पीडामा थोरै भए पनि राहत पुर्याउने उद्देश्यले कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट सहयोग गरेका हुन् ।
प्राकृतिक विपत्तिका बेला रौतहटमा स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थाले राहत तथा उद्धारका लागि सहयोग गर्दै आएका छन् । यसअघि परोहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरिसकेको छ ।
जिल्लाका अन्य सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी तथा सर्वसाधारणले पनि बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा सिधै रकम जम्मा गर्ने क्रम जारी रहेको छ ।