
काठमाडौं : रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा चट्टान, माटो र पानी मुख्य अवरोध बनेका छन्। नेपाली सेनाका अनुसार विभिन्न आयोजनामा संयुक्त उद्धार टोली परिचालन गरी सुरुङभित्र प्रवेश तथा अवरोध हटाउने काम जारी छ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र पुगे पनि ठूला चट्टान भेटिएपछि थप अगाडि बढ्न सकेको छैन। चट्टान हटाएर पुनः सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको सेनाले जनाएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा भने विदेशीसमेत सहभागी २५ सदस्यीय संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशीसमेत सम्मिलित संयुक्त टोलीबाट खोज तथा उद्धार कार्य भइरहेको छ।
अपर त्रिशूली–१ आयोजनाको हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ।
त्रिशूली–३ ए आयोजनामा भने उद्धार टोलीले महत्वपूर्ण प्रगति गरेको छ। नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाएको थियो। त्यस क्रममा कम्प्रेसर मेसिन, ब्रेकर तथा विस्फोटक पदार्थ प्रयोग गरेर अवरोध हटाएपछि सुरुङको आउटलेट भेटिएको सेनाले जनाएको छ।
तर वर्षाका कारण राति सुरुङमा करिब १.५ मिटर पानी जमेको थियो। उक्त पानी पम्पमार्फत बाहिर निकाल्ने काम गरिएको छ। पानी हटाएपछि सुरुङको थप भागमा खोज तथा उद्धार अघि बढाउने तयारी छ।
त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरिसकेको छ। ती क्षेत्रमा पुग्न एक्स्काभेटरको प्रयोग गरी बाटो बनाउने काम भइरहेको छ।
विभिन्न आयोजनामा उद्धारको अवस्था हेर्दा सुरुङभित्र प्रवेश नै मुख्य चुनौती बनेको छ। कतै ठूला चट्टानले बाटो छेकेको छ भने कतै माटो र पानी हटाएर मात्रै थप खोज अघि बढाउनुपर्ने अवस्था छ। सेनाले विदेशी प्राविधिकसहित संयुक्त टोली परिचालन गरेर अवरोध हटाउँदै खोज तथा उद्धारलाई अघि बढाइरहेको जनाएको छ।

