
काठमाडौं : टिमुरेमाथिको आकाशमा बितेको साता बाक्लो संख्यामा हेलिकोप्टर उडे । तल भोटेकोशीको बाढीले बनाएको खण्डहर छ । बाटाघाटा पुरिएका छन् र बस्ती सडकमार्गबाट अलग भएका छन् । जमिनबाट पुग्न कठिन भएका ठाउँमा उद्धारको बाटो आकाश बनेको छ ।
त्यही आकाशमा क्याप्टेन प्रिया अधिकारी लगातार उडिरहेकी छन् । रसुवामा विनाशकारी बाढीले तबाह मच्चाएपछि पछिल्लो साताभर उनले निरन्तर उद्धार उडान भरिन् । यसबीचमा मात्र उनले सयभन्दा बढीको उद्धार गरिसकेकी छन् । सडक सम्पर्क टुटेका र जोखिममा परेका बस्तीमा पुगेर विपत् प्रभावितलाई सुरक्षित स्थानमा ल्याउने क्रममा उनी भोकप्यास बिर्सेर खटिइरहेकी छिन् ।
एउटा उडान सकिएपछि अर्को उडानका लागि तयारी हुन्छ । बाढीले विरूप पारेका बस्तीका मानिसलाई उद्धार गर्न उनी उडेको–उड्यै छिन् । टिमुरे क्षेत्रमा एकैपटक पाँच–छवटासम्म हेलिकोप्टर उद्धारमा परिचालित भए । साँघुरो उपत्यकामा हवाई जोखिम पनि उत्तिकै छ । त्यसैले आकाशमा पनि निरन्तर समन्वय आवश्यक पर्छ । रेडियोमा पाइलटहरूबीच कुराकानी चलिरहन्छ । कसले कहाँ अवतरण गर्ने, कुन हेलिकोप्टरले उद्धार गर्ने र अर्को उडान कसरी मिलाउने भन्ने निर्णय आकाशमै गर्नुपर्छ ।
तलको भूगोल भने बाढीपछि बदलिएको छ । पहिले चिनिने बाटाहरू कतै छैनन् । बाढीले बस्तीको स्वरूप नै बदलेको छ । नदीको धार फेरिएको छ । अवतरणका लागि सुरक्षित ठाउँ खोज्नु अर्को चुनौतीको विषय बनेको छ । यही भूगोलमाथि प्रिया लगातार उडिरहेकी छन् ।
तर, हेलिकोप्टर उडाउनु उनको बाल्यकालदेखिको सपना थिएन । उनी पर्यावरण विज्ञान पढ्दै गर्दा एकपटक उनलाई हेलिकोप्टर चढ्ने अवसर मिलेको थियो । उडान सकिएपछि उनले पाइलटलाई सोधेकी थिइन्, ‘म हेलिकोप्टर पाइलट कसरी बन्न सक्छु ?’
त्यही एउटा प्रश्नले उनको जीवनको बाटो बदलिदिएको थियो । पाइलट बन्ने तालिमका लागि उनी फिलिपिन्स पुगिन् । उडान सिकिन् । नेपाल फर्किएपछि व्यावसायिक रूपमा हेलिकोप्टर उडाउन थालिन् र अन्ततः नेपालकै पहिलो महिला हेलिकोप्टर क्याप्टेन बनिन् ।
उनको यात्रा त्यसपछि पनि सहज थिएन । नेपालको हिमाली भूगोलमा उडान आफैं चुनौतीपूर्ण काम हो । उच्च उचाइ, साँघुरा उपत्यका, बदलिइरहने मौसम र कठिन अवतरणस्थलसँग पाइलटले निरन्तर जुध्नुपर्छ । प्रिया यही भूगोलमा उडानको अनुभव बटुल्दै गइन् । ६ हजार मिटरभन्दा माथिको उचाइमा पुगेर पर्वतारोहीको उद्धार गरेका अनुभव पनि उनीसँग छन् ।
तर, अहिलेको भोटेकोशी बाढी फरक खालको चुनौती बनेर आएको छ । हेलिकोप्टरबाट तल हेर्दा विपत्तिको भयंकर देखिन्छ । सिएनएनका एन्डरसन कुपरसँगको एक कुराकानीमा प्रियाले लगातारको उद्धार उडानले ल्याएको थकान र आँखैअगाडि देखिएको विनाशको भावनात्मक असरबारे बताएकी छन् । तर, ककपिटमा धेरैबेर त्यो दृश्य हेरेर बस्ने समय हुँदैन ।
अगाडिको भूगोल हेर्नुपर्छ । अवतरणका लागि ठाउँ खोज्नुपर्छ । मौसम र हावाको अवस्था बुझ्नुपर्छ । आसपास उडिरहेका अरू हेलिकोप्टरसँग समन्वय गर्नुपर्छ । उद्धार गरिसकेपछि फेरि अर्को गन्तव्यतर्फ लाग्नुपर्छ । उनले एकै सातामा गरेका सयभन्दा बढी उडानमा यही क्रम दोहोरिएको छ ।