
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवामा गएको विनाशकारी बाढीपछि बुधबार पहिलोपटक प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरे ।
ठुलो जनधनको क्षति भएको छ । यसबाट मुलुक नै शोकमग्न छ । यसबेला प्रधानमन्त्री बालेनले प्रभावित र पीडितलाई उत्साह भर्ने प्रयास गरे । उनले सुरुमै भने, ‘आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसद्को रोस्ट्रममा उभिएको छु ।’
अनि यो विपद् सिँगै नेपालको भएको बताए । ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ ।’
भदौ १० गते भोटेकोशी त्रिशूली नदीमा विनाशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदीतटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार २०४ जनाको शव फेलापरेको छ ।
४ हजार २१६ जना सम्पर्कविहीन छन् । ३०१ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
यो अवस्थाबारे प्रतिनिधिसभामा ब्रिफिङ गर्दै प्रधानमन्त्री बालेनले प्रभावित व्यक्ति र मृतकका आफन्तलाई ढाढस् दिने प्रयास गरे । ‘रुसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी रहनेछ । घाइतेको उपचार जारी रहनेछ ।’ उनले भनेका छन्, ‘घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्र्थापनामा सरकार लाग्नेछ । कोही कतै छुट्नुहुने छैन ।’
साथै प्रधानमन्त्रीले विपद्पश्चात् खोज, उद्धार, उपचार, राहत र व्यवस्थापनदेखि पुनस्र्थापनाको चरणसम्म खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मन्त्रिपरिषद्का सदस्यहरू, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधिलाई धन्यवाद दिए ।
स्थानीय, स्वयमसेवी संस्थाहरू, आमनागरिक, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंस्थालगायत सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे र आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागि आग्रह गरे । प्रधानमन्त्री बालेनले प्रभावितका आफन्तलाई भनेका छन्, ‘सरकार हिजो पनि तपाईसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ ।’
यसक्रममा प्रधानमन्त्री बालेनले भदौ १० गते आफू कस्तो अवस्थामा रहँदा बाढीको सूचना पाएको हो भनेर पनि संसद्मा सुनाएका छन् ।
प्रधानमन्त्रीले पाएका थिए ५ मिनेटपछि सूचना
संसद्मा गरिएको ब्रिफिङअनुसार रसुवा बाढी सुरु भएको मिनेटपछि प्रधानमन्त्री बालेनले सूचना पाए ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले भदौ १० गते नै गरेको ब्रिफिङअनुसार ८ः३७मा बाढी प्रभावित क्षेत्रमा भूकम्पको धक्कासमेत गएको थियो । ८ः४०मा बाढी सुरु भएको थियो ।
बुधबार प्रधानमन्त्री बालेनले आफूले ८ः४५ बजे बाढीको सूचना पाएको जानकारी दिए । ‘बिहान ८ः४५ बजे त्यो बेला जब संसद्मा उभिएर यहाँ उठाइने प्रश्नहरूको जवाफ दिने तयारी गर्दै थिएँ, तर सूचना आयो रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । त्यो खबरले हामी गम्भीर बन्यौं । तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लियौं । सुरक्षा सतर्कता अपनाउन निर्देशन दियौं,’ बालेनले भनेका छन् ।
बालेनका अनुसार लगत्तै मनसुनप्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वयको काम अगाडि बढाइयो ।
पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह प्रशासन र सर्वसाधारणलाई अनुरोध गरिएको थियो ।
जोखिमयुक्त क्षेत्रमा यातायातलगायत आवतजावतमा पूर्ण रोक लगाई नागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको थियो ।
खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको थियो ।
प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप हवाई तथा स्थल उद्धार स्रोत परिचालन गरिएको छ । रसुवा र नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँका दरले र धादिङ जिल्ला विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ थप निकासा गरिएको छ ।
सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित भएको प्रधानमन्त्री शाहले बताएका छन् ।