
काठमाडौं : बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
एफवान सफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवान सफ्ट इन्टरनेसनल र इसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो । बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायलाई राहत र पुनःस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले योगदान गरिएको ग्रुपले जनाएको छ ।
यसैबीच, इसेवा र फोनपेमार्फत व्यक्तिगत रूपमा राहतका लागि सहयोग गर्ने प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रहेको कम्पनीले जनाएको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, फोनपेका ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् । फोनपेमार्फत संकलित रकममा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।
भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् । एफवान सफ्ट ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, संघसंस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ ।