२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

एक वर्षसम्म पनि निको भएन घाउ

Nada
भावना पाठक
२०८३ भदौ २४ गते ०६:३०
Shares
एक वर्षसम्म पनि निको भएन घाउ

काठमाडौं : एक वर्षअघि भदौ २३ र २४ गते सडकमा देखिएको आक्रोशले देशको सत्ता मात्र हल्लाएन, धेरै परिवारको जीवन नै बदलिदियो । सुशासनको माग गर्दै स्कुल ड्रेसमै सडकमा आएका विद्यार्थीदेखि सुरक्षाकर्मी र सर्वसाधारणसम्म त्यस आन्दोलनको मूल्य चुकाउनुपर्‍यो । दुई दिनमा सुरक्षाकर्मी, प्रदर्शनकारी र अन्य गरी ७६ जनाको मृत्यु भयो । आन्दोलनपछि उठेका प्रश्न भने अझै बाँकी छन् ।

ncell

जेनजी आन्दोलनको पहिलो दिन, अर्थात् गत वर्षको भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन र प्रहरीसँगको झडपमा १९ जनाको मृत्यु भएको थियो । सुशासनको नारा लिएर आन्दोलनमा सहभागी विद्यार्थीसहित जेनजी उमेर समूहका युवामाथि राज्यले निर्मम दमन गरेको आरोप लाग्यो ।

प्रहरीलाई फूल दिएर सुरु भएको आन्दोलन रक्तपातमा परिणत भएपछि भदौ २४ गते देशभर आन्दोलन चर्कियो । आफ्ना कलिला सन्तान गुमाएका अभिभावकसमेत सडकमा ओर्लिए । त्यसक्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत देशका प्रशासनिक तथा न्यायिक संरचना ध्वस्त पारिए । आन्दोलनको मार प्रहरी प्रशासनले पनि खेप्यो । आन्दोलनकारीले प्रहरीलाई बर्दी खोलेर आत्मसमर्पण गर्न लगाए । देशका विभिन्न स्थानमा चर्किएको हिंसात्मक प्रदर्शनका क्रममा तीन प्रहरी कर्मचारीको मृत्यु भयो ।

मृत्यु भएका प्रहरीहरू आन्दोलनकारीको व्यक्तिगत निसानामा परेका थिए । प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या भयो । महाराजगन्ज वृत्तमा कार्यरत असई राय भदौ २४ गते कार्यालय परिसरमै प्रदर्शनकारीको आक्रमणमा परेका थिए । सादा पोसाकमा रहेका उनलाई प्रहरी भएको पहिचान भएपछि भिडले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

रायको हत्या आरोपमा पक्राउ परेका होमप्रसाद पौडेलले आफूले रायमाथि काठको किलादार चिर्पटले प्रहार गरेको बयान दिएका थिए । पौडेलले आफ्नो बयानमा विगतमा प्रहरीले आफूलाई माओवादीको आरोपमा कुटपिट गरेको र त्यसैकारण प्रहरीप्रति आक्रोश रहेको उल्लेख गरेका छन् । उनका अनुसार भदौ २४ गते भिडमा रहेका बेला उनले रायमाथि आक्रमण गरेका थिए । अर्का आरोपी टीकाराम विश्वकर्माले पनि प्रहरी कार्यालय तथा सवारीसाधन तोडफोड र आगजनीमा भिडसँगै सहभागी भएको तथा घाइते अवस्थामा रहेका रायलाई प्रहार गरेको बयान दिएका छन् ।

महाराजगन्जकै प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका युवराज क्याप्छाकी र बुद्धिलाल तामाङले पनि घटनाबारे बयान दिएका छन् । उनीहरूको बयानअनुसार थापामाथि लाठी, रड, चिर्पट तथा इँटा–ढुंगालगायतका वस्तुले आक्रमण गरिएको थियो । गम्भीर अवस्थामा पुगेपछि थापालाई सडकतर्फ लगिएको र त्यहाँ पनि आक्रमण भएको बयानमा उल्लेख छ । दार्चुलाका थापा करिब नौ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए ।

कोटेश्वर प्रहरी प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरुङ पनि प्रदर्शनकारीको आक्रमणमा मारिए । प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएपछि भाग्ने क्रममा उनीमाथि आक्रमण भएको थियो ।

गुरुङको हत्या आरोपमा पक्राउ परेका अनुपम भण्डारीले पनि सरकारी वकिलसमक्ष आफ्नो संलग्नता स्वीकार गरेको विवरण छ । भण्डारीका अनुसार उनले अन्य आन्दोलनकारीसँगै गुरुङलाई बाहिर ल्याएका थिए र आफूले चक्कुले प्रहार गरेको बयान दिएका छन् । अन्य व्यक्तिहरूले पनि उनलाई कुटपिट गरेको र गम्भीर अवस्थामा पुगेपछि घटनास्थलमै छाडेर आफूहरू भागेको उनले बताएका छन् ।

भदौ २३ र त्यसको भोलिपल्ट २४ गते देशव्यापी रूपमा फैलिएको आन्दोलनका क्रममा सुरक्षाकर्मी, प्रदर्शनकारी र अन्य गरी कुल ७६ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन सरकारले प्रदर्शनकारीमाथि गोली चलायो भने भोलिपल्ट प्रहरी प्रशासन र निजी व्यवसायमाथि प्रहार भयो । भाटभटेनी, हिल्टन होटल, सिजी ग्रुपलगायत ठुला व्यापारी घरानामाथि निसाना साँधियो ।

कारबाहीको प्रश्न

जेनजी आन्दोलनका नाममा सरकारी संरचनामा तोडफोड र प्रहरीको हत्या गर्नेमाथि कारबाही गर्ने भनिए पनि सरकारमाथि पक्राउ परेका अभियुक्तलाई निःसर्त छोड्नुपर्ने दबाब छ । 

हिजो जेनजीको सम्झनामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले पक्राउ परेका जेनजी युवाहरूलाई रिहा गर्नुपर्ने माग गरे । उनले जेनजी आन्दोलनकारी देश जलाउन नभई देश बनाउन सडकमा आएको बताए ।

आन्दोलनमा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न तथा घाइतेहरूको स्वदेश–विदेशमा आवश्यक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उनले भदौ २३ जस्तो दुःखद घटना नेपालले फेरि कहिल्यै भोग्न नपरोस् भने । नागरिक र राज्यबीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

एक वर्षपछि आन्दोलनलाई सम्झिँदा राज्यको दमन र आन्दोलनका क्रममा भएका हिंसा दुवै प्रश्नको घेरामा छन् । सुशासन र जवाफदेहिताको माग गर्दै उठेको आन्दोलनले राज्यसँग प्रश्न गरेको थियो । तर, त्यसपछिका घटनाले आन्दोलनभित्रको हिंसा, त्यसको जिम्मेवारी र पीडितले पाउनुपर्ने न्यायबारे पनि उत्तिकै गम्भीर प्रश्न छाडेको छ ।

रविलक्ष्मीको जलेको संसार

आन्दोलन मृत्यु र क्षतिमै सकिएन । त्यसको एक वर्षपछि पनि त्यस दिनको असर शरीर, घर र परिवारमा बोकेर बाँचिरहेका मानिसहरू छन् । तिनैमध्ये एक हुन्, प्राध्यापक रविलक्ष्मी चित्रकार । जो पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी हुन् । भदौ २३ गते जेनजी आन्दोलनमा १९ युवाको मृत्यु भएपछि देशभर भड्किएको हिंसा भोलिपल्ट झन् अनियन्त्रित बन्यो । त्यसको मारमा परिन्, रविलक्ष्मी ।

भदौ २४ गते बिहान डल्लुस्थित खनालको घरमा रविलक्ष्मी, उनका छोरा निर्भीक र परिवारका सदस्यहरू थिए । बाहिर प्रदर्शनकारीको भिड बढ्दै थियो । केहीबेरमै घरमा ढुंगामुढा सुरु भयो । सुरक्षाको जोखिम देखाउँदै सुरक्षाकर्मीले झलनाथ खनाललाई घरबाट बाहिर निकाले । परिवारको उद्धार पनि गर्ने भनिएपछि उनी बाहिरिए । तर खनाल बाहिरिएको केही समयमै अवस्था भयावह बन्यो । प्रदर्शनकारीहरू घरतर्फ सरे र घरमा आगजनी सुरु भयो । घरभित्र रहेकी रविलक्ष्मी र छोरा निर्भीक बाहिर निस्कन सकेनन् ।

धुवाँले भरिएको बार्दलीबाट छोरा निर्भीकले सडकमा रहेका समूहलाई आमालाई बचाइदिन गुहार मागिरहेका थिए । तर उनको आग्रह सुनिएन । आगो र धुवाँले घर ढाक्दै गएपछि रविलक्ष्मी घरभित्रै फसिन् ।

सास फेर्न कठिन भएपछि उनीहरू तेस्रो तलामा पुगे । बाक्लो धुवाँका कारण रविलक्ष्मी भर्‍याङनजिकै बेहोस भएर लडिन् । छोरा र सुरक्षाकर्मी झ्यालनजिक भएकाले जोगिए । उद्धारमा पुगेकाहरूले उनलाई निकै कठिन प्रयासपछि फेला पारे ।

घरको मुख्य ढोका प्रयोग गर्न सक्ने अवस्था थिएन । त्यसपछि छिमेकीको घरको छानो हुँदै भर्‍याङ लगाएर पहिले निर्भीक र त्यसपछि रविलक्ष्मीलाई बाहिर निकालियो । त्यतिबेलासम्म आगोले उनको शरीरको धेरै भाग जलिसकेको थियो । उनलाई अस्पताल पुर्‍याइयो । उनको फोक्सो र श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर असर गर्‍यो । देब्रे हात गम्भीर रूपमा जलेर काम नलाग्ने भएपछि उपचारकै क्रममा काट्नुपर्‍यो ।

नेपालमा उपचार कठिन भएपछि रविलक्ष्मीलाई थप उपचारका लागि भारतको दिल्लीस्थित अपोलो अस्पताल लगियो । लामो उपचारपछि नेपाल फर्किए पनि उनको आवाज अझै पूर्ण रूपमा फर्किएको छैन । धुवाँका कारण श्वासप्रश्वासमा समस्या पनि कायमै छ ।

भदौ २४ को आगोले उनको शरीर मात्र जलाएन, बर्सौंदेखि संकलन गरेका पुस्तक, घर र पारिवारिक सामग्री पनि नष्ट गर्‍यो । रसायनशास्त्रकी प्राध्यापक रविलक्ष्मीले आफ्नो जीवनको लामो अवधि विद्यार्थीलाई पढाएर बिताएकी थिइन् । राजनीतिक परिवारसँग जोडिए पनि उनको जीवनशैली सामान्य रहेको उनलाई चिन्नेहरू बताउँछन् ।

घटनापछि खनाल दम्पतीले आगजनीलाई अमानवीय र आपराधिक भन्दै निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । 

ताजा खबर

सम्बन्धित खबर