–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
यहाँ रोजगारी पाए कोही पनि विदेश जाँदैन । सरकारले गत आर्थिक वर्षमा बेरोजगार भन्दै युवाहरूलाई विगतझैँ सूचीकृत ग¥यो, संख्या रह्यो आठ लाख ५८ हजार १५४, तर ६० हजार ५७१ जनाले वर्षभरिमा ८० दिनको न्यूनतम ज्याला मात्र पाएको विवरण देखायो । गएको असार ८ सम्मको तथ्याङ्क त योभन्दा थोरै थियो, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देशैभरि करिब ४८ हजार युवाले मात्रै ७९ दिनको ज्याला पाएको भनेर । बेरोजगारमा महिला नै पाँच लाख ३५५ जना र पुरुष तीन लाख ८५ हजार बढी छन्, सूचीकृत मात्रै, अन्य छरिएका कति छन् कति । ७२७ स्थानीय पालिकाहरूमा यस्तो सूचीकृत गर्ने कार्यक्रम रहे पनि अरूले अहिलेसम्म सूचीकृत पनि गर्न सकेका छैनन् । गएको असार १३ को एसइई परीक्षाको परिणाम आउँदा ४७.८६ प्रतिशत उत्तीर्ण बाँकी अनुत्तीर्ण देखिए र यस पटक सबैलाई पुनः परीक्षा दिन पाउने सुविधा भन्दै पङ्क्ति तयार गरिरहँदा सबै अनुत्तीर्णहरू पुनः परीक्षा दिँदै छन् ।
प्रकृति दोहनमा संसार रमेको छ अहिले । गत वर्षको अन्तर्राष्ट्रिय नारा रह्यो ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ । यहाँ सिपको पनि चर्चा भएको छ तर, हाम्रा युवाहरूले आफ्नो अध्ययनपश्चात् न रोजगारी पाउँछन्, न उनीहरूसँग सीप नै छ । बेरोजगार भएर बस्नुभन्दा विदेशको उच्च तापक्रममा भेडा चराउने बा भाँडा माझ्नु उत्तम भन्दै परदेशिएका छन् र उनीहरूको नारा नै छ ‘प्लस टूपछि खाडीमा भेटुँला’ भन्ने छ । भर्खरै बिदा भएको आर्थिक वर्षमा पनि होनहार साढे सात लाख युवाले देश छोडेका छन् । अमेरिकामा शिक्षा अनिवार्य र निःशुल्क छ, कक्षा १२ सम्म र त्यहाँ पढेकाहरू विषय विज्ञ पनि हुन्छन्, हाम्रो शिक्षाले ढुङ्गा हान्न सिकाएको छ । जुन देशका भिसी, रजिस्ट्रार र सबैजसो प्राज्ञहरूलाई दलको कोटाबाट नियुक्ति दिइन्छ, त्यस देशमा विद्यार्थीहरू सीपयुक्त उत्पादन होलान्, कल्पना गर्न सकिन्न । यत्रा वर्षसम्म सरकारले शिक्षा विधेयक वा निजामती सेवा विधेयक ल्याएको छैन, देश सधैँ काम चलाउमा चलेको छ । कोटा प्रणालीलाई लिएर बङ्गलादेशमा के भयो सबै जानकार छन्, त्यहाँको हावाहुन्डरी अन्यत्र पनि सर्न सक्छ । यस्तै बिजोक श्रीलंकामा भएको हो, अति पछि खती हुन्छ, आफू र आफ्नालाई मात्र भरण पोषण लोकतन्त्रमा सुहाउँदैन । जनता बाठा भइसकेका छन्, अब यहाँ श्री ३ को हुकुमी शासन चल्दैन । यही देश हो भिसी वर्षमा एक महिना लगातार आफ्नो कार्यालय जान सक्दैनन्, संरक्षित छन् तीलगायत अरू पनि कि त टारहरूबाट कि कोटहरूबाट । श्रीहरूको संरक्षणमा युवाहरूलाई देश निर्माताहरूको सालिक तोड्न लगाइयो, तर ती पनि लखेटिए विदेश । तिनले पठाएको रकममा डकार्दै छौ हामी लाजै छैन । नेतृत्वमा युवा गएको पाच्य हुन्न, धरानका हर्क कोठामा ताला बन्दी हुन्छ, काठमाडौँका बालेन निसासिन पुग्छन्, धनगढीका हमाललाई पनि चैन छैन । नयाँ अरू युवाहरूलाई मुद्दा खेप्दै छन्, राजनीतिमा मात्रै होइन कतै पुस्तान्तरण भएन ।
साँच्चै परिवर्तनमा युवाले साथ दिए तर, ती प्रायः निराश छन् अहिले । हाम्रो लोकतन्त्र सधैँ भोको छ र उसले आफ्नो आहाराका लागि ट्राफिक जरिबानाबाट मात्रै एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार कमाएको छ । हालैको आर्थिक वर्षमा, हाम्रा बाटोघाटा कस्ता छन् भन्नु परेन । देशले बनाएको संविधानलाई भ्रष्टाचारको पुलिन्दा भनेका छन् विश्लेषकहरूले । संविधानले नचिन्ने आइडी बनिरहँदा वृद्धहरूको आँसुका धारा रोकिएको छैन अहिले भत्ता र पेन्सनलाई समेत अनिवार्य गरिदिँदा, संविधान विज्ञहरूले त यो कार्यलाई राष्ट्र विप्लवको संज्ञा दिएका छन् सार्वजनिक रूपमै ।
हामीकहाँ वृद्ध भत्ता खाएर देवघाट बस्न सुहाउनेहरूले सत्ताको साँचो लिइरहेका छन् । हामीले गोडा ढोगेका कतारी राजा थानीको उमेर ४३ छ, भुटानी राजा नाम्ग्यालको उमेर पनि ४३ नै छ, उत्तर कोरिया मि जोँगको ४० छ, एण्डोराका प्रधानमन्त्री जेभियरको ४४ छ, आयरल्याण्डको प्रम बडारकरको पनि ४४ छ, फ्रान्सका प्रधानमन्त्री ग्याब्रिएल एटाको ३४ वर्षको छ । संसारकै भनाइमा पनि वृद्ध भएपछि स्मरण शक्ति कम हुने र जोखिम मोल्न नसक्ने अवस्था हुन्छ । हाम्रा राज्य सञ्चालकहरू धेरै रोगी पनि छन्, राज्य कोषबाट तिनले लिएका सुविधाले पनि सोको पुष्टि हुन्छ । ठाँटसँग साइकल चढेर कार्यालय जाऊ आऊ गर्ने प्रधानमन्त्री बोकेको देश डेनमार्कले सुशासनको उपदेश दिइरहेको छ र ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि यस्ता देशहरूलाई सुशासनको अग्रपंक्तिमा नै राखेको छ ।
युवा लक्षित भन्दै देशले प्रधानमन्त्री रोजगार कार्यक्रम दियो, प्रम कृषि आधुनिकीकरण भन्यो, राष्ट्रिय युवा जागरण पनि भन्यो, कृषि उत्पादनमा युवा, सुशासनमा युवा, विज्ञान र प्रविधिमा युवा, वातावरण संरक्षण र दिगो विकासमा युवा, पर्यटन प्रवर्द्धनमा युवा, छुवाछूत विरुद्धमा युवा, स्वयंसेवी भूमिकामा युवा, लैङ्गिक हाँसाविरुद्धको अभियानमा युवा, विपत् व्यवस्थापनमा युवा, भएभरका सबैमा युवा भनियो, सरकारी बजेट पनि धेरै हालियो तर, जसरी देशमा कृषि, स्वास्थ्य, शिक्षामा हालेको लगानी बालुवाको पानी भएको छ त्यस्तै युवाहरूमा पनि भएको छ । भोटको भकारी भरिने र युवाको खडेरी पर्ने हाम्रो नियति नै भएको छ र त हरेक वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरूको भीड देखिने गरेको छ । जो यहाँ रमाउन पाएका छन् ती राजनीतितिर मात्रै छन् । विमानस्थलमा हस्याङफस्याङमा सबै, अभिभावकहरूको रोइलो, घुँक्क घुँक्क गर्दै, आँसु नरोकिएको अवस्था छ, घर बारी बेचेर पनि बिदेसिने चलन जति दिवसहरू वा अभियानहरू थपिए, त्यति बेलादेखिकै रोइलो बढेको छ, घटेको छैन ।
हो, गत वर्ष पनि देशले २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनायो, सरकारले राष्ट्रिय युवा नीति २०७२ पनि सञ्चालनमा ल्यायो, आव २०८०÷०८१ मा सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनायो, तिनलाई सहुलियत कर्जा, युवामैत्री लगानीको कुरा, नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकता रहने पनि भन्यो, तर विदेश पलायनबाट रोक्ने ठोस नीति तय गरेन । देश नै आत्मनिर्भर नभएको अवस्थामा युवा मात्रैको प्रश्न छैन यहाँ तमाम विषयहरू ओझेल परेका छन्, समयमा काम सम्पन्न हुने भनेको यहाँ केवल निर्वाचन मात्रै हो, तलदेखि माथिसम्म राजनैतिक रोजगारी दिइने मात्रै हो, बाँकी काम सबै स्थिर रहने हाम्रो नियति छ । देशको ढुकुटी बढाउनैका लागि सरकार तिनको राहदानी बनाइदिएर, नो अब्जेक्सन लेटर दिएर, पैसा साट्दा आउने कमिसनको लोभमा परेर अनि त्यसैबाट थप कर लिएर राज्य ढुकुटी बढाउने गरेको छ र त्यो पैसाले नेताको विदेश उपचार खर्च र अनावश्यक सुरक्षा खर्चमा लगाएको छ । युवा लगायत वृद्धहरूबाट समेत आर्जित पैसाबाट यहाँ नेता पालिएका छन् । यहाँ रोजगारी छैन, भविष्य देखिँदैन, छ रोजगारी केवल राजनीतिको मात्र ।
देशमा जनशक्ति योजनाको अभाव र राजनैतिक अस्थिरताले ल्याएको विषम परिवेशका कारण धेरै नेपाली बाहिरिएका हुन् । सामाजिक र आर्थिक रूपान्तरण युवा शक्तिकै हातमा हुन्छ, सामाजिक सद्भावको अभिभारा पनि, सांस्कृतिक रूपान्तरण युवा जिम्मेवारीकै विषय हो, र राजनैतिक रूपान्तरण पनि । देश नराम्रो आर्थिक मन्दीमा फसेको छ, चौतर्फी सीमा समस्यामा अड्केको छ । राजनैतिक दलभित्र किचलो छ । गुट र उपगुटमा पर्दा देशका मूल मुद्दाहरू ओझेलमा छन् । सत्ताबिच टकराव छ भने नेतृत्वमा गुटबन्दी छ । सरकार विगतमा झैँ आकर्षक र मनै लोभिने खालको भाषण दिन छुटेको छैन, नीति कार्यक्रमदेखि बजेटसम्म र अन्य अर्ती उपदेश उसका नराम्रा छैनन्, तर जनता भने अन्योलमा । विदेशी ऋणको ठुलो भारी बोकेर, असह्य पीडामा, धान्नै, पाल्नै नसक्ने महँगा नेताहरू पाल्न असह्य भएका छन्, केन्द्रित छन् ती ।
नेपालको कूल जनसंख्यालाई विश्लेषण गर्दा, १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू अधिक छन् । देशको जनसंख्या तीन करोड पुगेन, नेपाली भने जन्मँदै ८४ हजार ऋणमा छन् । सबै युवा सीप सम्पन्न, उद्यमशील हुने हो भने हामीले सोचेको विकासको रफ्तार टाढा हुन्थ्यो । युवा जनशक्ति भनौँ मानव पुँजी पलायन हुन नदिने र श्रम शक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो । सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना भने गर्न सक्छ । नाना र छानाकै लागि युवा शक्ति बिदेसिएको हो । कुनै पनि सरकारी काम बढी प्रक्रियामुखी झन्झट र अपारदर्शी भयो । सरकारले सामाजिक सुरक्षाको कुरा गरे पनि युवाहरूले पत्याएनन् । रोजगारदाताको सूचीकृत संख्या नगण्य छ, उद्योगहरू नै छैनन्, उत्पादन कसरी हुन्छ र रोजगारी ? रोजगारदाताहरू यस अभियानमा उत्साहित नभएको देखिन्छ । रोजगारी सिर्जना गरी उद्यमशीलतामा, उद्योगमा युवा शक्ति सरिक गराउने काममा लघु, घरेलु साना उद्योगहरूको बढी हात हुन सक्छ । तर यसै क्षेत्रबाट सामाजिक सुरक्षा अभियानमा खासै चासो दिएको देखिँदैन, बिमा कार्यक्रम पनि व्यापारिक भयो ।
हाम्रो सरकारले करमाथि कर थोपरेको छ । खर्च कटौती गर्न सक्ने धेरै आधारहरू छन्, त्यतातिर ध्यान दिनुभन्दा कार्यालय सञ्चालनकै लागि एउटैको डेढ करोड पर्ने महँगो गाडी किनिन्छ । शिक्षाको वातावरण छैन, मध्यम र उच्च शिक्षा प्राप्त युवा शक्ति विदेश पलायनबाट रोकिएनन् । व्यवहारिक र व्यावसायिक शिक्षाको अभाव छ मुलुकमा । युवा जोस जाँगरको प्रयोग हुने गरी दिइने तालीम, शिक्षण, प्रशिक्षणको अभाव छ यहाँ । केही तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरू भए पनि समन्वयको अभाव छ । सरकारलाई लगानीको वातावरण तय गर्ने फुर्सदै छैन । युवाको सक्रिय जोस जाँगर मुलुकबाहिर पठाए आफ्नो विरोध कम हुन्छ भन्ने सोचियो । देशमा कृषि क्षेत्रको रूपान्तरणमा यो शक्तिको प्रयोग हुन सकेन । राजनैतिक दलहरूसँग सक्रिय हुने बाहेक अरू श्रम शक्ति खेर गइरह्यो । युवा शक्तिको सहभागिताबाटै विकास र राष्ट्र निर्माण सम्भव थियो । मुलुकमा जलस्रोतको कमी छैन । तर, यहीँ मेलम्ची आएन, विद्युत् उत्पादन, सडक निर्माण, खानेपानी आपूर्तिदेखि पूर्वाधार विकासका क्षेत्रमा हाम्रै युवा जनशक्ति प्रयोग भएको हो भने अहिलेको विषम परिवेश आउँदैनथ्यो, दुनियाँले हामीलाई हेप्ने पनि थिएनन् ।