२०८२ भदौ २३ गते सोमवार / Sep 08 , 2025 , Monday
२०८२ भदौ २३ गते सोमवार
Ads

बालेनको मूल्यांकन

shivam cement
२०८२ भदौ २३ गते ०६:००
बालेनको मूल्यांकन

–नरेन्द्रमान श्रेष्ठ

२०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर मेयर पदमा विजयी भएका बालेन्द्र साह ‘बालेन’को कामलाई लिएर आलोचना र प्रशंसा दुबै भइरहेको पाइन्छ । पछिल्लो समयमा उनका समर्थकहरूको संख्या घट्दो क्रममा रहेको हो कि भन्ने चर्चा समेत हुने गरेका छन् । साना तथा फुटपाथ व्यवसायीहरूलाई विकल्प नदिइ रोजीरोटी खुस्ने कुरा होस् वा ठेला, डोका वा साइकल व्यवसायीलाई धरपकड गर्ने कुरा होस् वा कवाडी व्यवसायीलाई काठमाडौंबाट धपाउने कुरा होस्, जसले उनीप्रति असन्तोष बढाएको छ । विशेषगरी सामान्य मानिसहरु उनीहरु निकै असन्तुष्ट छन् । 

मेयर साहको अलिकति आलोचना ग¥यो भने पनि उनका अन्धसमर्थकहरूले सामाजिक सञ्जालमा गालीको वर्षा गर्ने गरेको पनि पाइन्छ । यस्तै, व्यवहार रवि लामिछाने वा पूर्वराजा ज्ञानेन्द्र शाहको मामिलामा पनि देखिन्छ । जो आलोचनामा असहिष्णु समर्थकहरूको गालीको सामना गर्नुपर्छ । 

यथार्थमा, मेयर साह काठमाडौं महानगरपालिकाको ३२ वटा वडाका मेयर हुन्, देशका प्रधानमन्त्री होइनन् । त्यसैले काठमाडौं महानगरपालिकाको कामकाजबारे आलोचना वा प्रशंसा गर्ने अधिकार आमनगरबासीमा छ । नगरवासीहरूले नगरपालिकाको काममा चित्त नबुझे आफ्ना भावना व्यक्त गर्न पाउने संवैधानिक हक उनीहरूलाई छ । तर, त्यसो गर्दा बाहिरकाले गाली गर्नु गलत हो ।

काठमाडौं महानगरपालिकाले गरेका काममध्ये केही राम्रा छन् भने केहीमा स्थानीयहरू असन्तुष्ट छन् । कतिपय स्थानीयहरूको धारणा अनुसार, साह मेयर भएको ३ वर्षभन्दा बढी भइसक्दा पनि दीर्घकालीन प्रभाव पर्ने कुनै ठूला संरचना वा परियोजनाहरू अगाडि बढाउन सकेका छैनन् । न त स्वास्थ्य, न खानेपानी, न उद्योग प्रवद्र्धनजस्ता क्षेत्रमा कुनै ठोस काम भएको देखिन्छ ।

शहरमा खानेपानीको अभाव छ । जनताले दैनिक जीवनयापनमा प्रयोग हुने पानी समेत महँगो मूल्यमा किन्नु परिरहेको छ । तर, महानगरपालिकाले १५ हजार लिटरको ट्यांकर प्रयोग गरी सडक पखाल्ने गरेको देखिन्छ । यदि त्यो पानी टोलटोलमा वितरण गरिएको भए शौचालय सफा गर्नकै लागि भए पनि पानी किन्नु नपर्ला । यो नीति उपयुक्त हो त ?

के सडक सफा गर्नु जनताको पिउने पानीभन्दा महत्वपूर्ण हो ? केहीले भन्न सक्छन्— खानेपानी कार्यालयको जिम्मा खानेपानी विभागको हो, नगरपालिकाको होइन, तर नगरपालिकाले समन्वय गरी समाधान खोज्न सक्थ्यो । आखिर मेयर भनेको स्थानीय सरकार हो, जसको जिम्मा नगरबासीको समस्या समाधान गर्नु पनि हो ।

यस्तै, ढलको व्यवस्था छैन । पानी पर्नासाथ सडक पोखरी बन्छ । पार्किङको अभाव छ । महानगरले सडकमा पार्किङ निषेध गरेको छ, तर विकल्प नदिएको अवस्था छ । विकासका नाममा पिच गरिएका सडक भत्काउने र फेरि त्यही बनाउने, सडक पेटीको ब्लक उखेल्ने र नयाँ राख्ने, पर्खालमा चित्र कोर्ने, पुलहरूमा झिलिमिली बत्ती राख्ने, चाडपर्वमा मन्दिर र सडक पानीले पखाल्ने, के महानगरको काम यही मात्र हो ?

तर, राम्रो पक्ष पनि छन् । महानगर पहिलेभन्दा सफा देखिन्छ । अवैध संरचनाहरू हटाइएका छन् । फुटपाथको व्यवस्था गरिएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, काम यतिमा सीमित हुनु हुँदैन । विगतमा दलपिच्छे लाग्ने मेयरहरूको तुलनामा स्वतन्त्र उम्मेदवारलाई जिताएर पठाउनुको उद्देश्य नै नगरवासीका दीर्घकालीन समस्याको समाधान खोज्नु थियो ।

तर, तीन वर्ष बितिसक्दा पनि त्यो उद्देश्यतर्फको प्रगति कम देखिएको छ । दीर्घकालीन लाभ हुने पूर्वाधार निर्माण, नयाँ सोचसहितको योजना, समन्वय र नेतृत्व देखिएको छैन । मेयर साहले केही सकारात्मक काम गरेका छन् भने केही क्षेत्रमा चुकिरहेका छन् भन्ने स्वीकार्नुपर्छ । आलोचना गाली होइन, मूल्यांकन हो । नगरबासीले प्रश्न उठाउनु, सुझाव दिनु वा आलोचना गर्नु लोकतन्त्रको अभ्यास हो । यसलाई गालीगलौजमा नझारी जिम्मेवार नागरिक बन्नु सबैको कर्तव्य हो ।

ADV

सम्बन्धित खबर

Advertise