दुई दशक भन्दा धेरै समय नेपालको हस्पिटालिटी क्षेत्रमा निरन्तर काम गरिरहेका व्यक्ति हुन् महेश फुयाल । अमेरिकाबाट हस्पिटालीटी विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका फुयाल नेपालको पाँच तारे होटलमा सेल्स एण्ड मार्केटिङ देखि जनरल म्यानेजरसम्मको भूमिका निर्वाह गरिसकेका छन् । पछिल्लो समय उनी पर्यटकीय क्षेत्र ठमेलमा रहेको रमादा अनकोर काठमाडौं ठमेलमा जनरल म्याजेजरको भूमिकामा रहेका छन् । प्रस्तुत छ, उनै फुयालसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानीको समसामयिक संक्षिप्त कुराकानी :
लामो समयदेखि हस्पिलिटी क्षेत्रमा काम गरिरहनुभएको छ । यो क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
हस्पिटालिटी क्षेत्रमा नेपालको पुरानो इतिहास छ । यो क्षेत्रमा हामीले विश्वका चर्चित व्यक्तिलाई सत्कार गर्ने मौका समेत पाएका छौं । नेपालमा आउने विदेशी पाहुनाले नेपालको आतिथ्य सत्कारको मन देखि प्रशंसा गरेको सुनिन्छ । हामीले गर्ने आतिथ्यता अन्य मुलुकको भन्दा धेरै नै माथि छ । हाम्रो आतिथ्य संंस्कार तथा सिद्धान्तमा केही कमी होला तर हृदयदेखि हामीले गर्ने सत्कारबाट विदेशी पाहुना निकै नै प्रसन्न हुने गरेका छन् ।
नेपाल आएको विदेशी पर्यटकले मन पराउने पहिलो नेपालको प्राकृतिक सम्पदा हो भने त्यसपछि हस्पिटालिटी नै हो ।
हस्पिटालिटी र पर्यटन क्षेत्र विकास बीचको सम्बन्ध कस्तो हुन्छ ?
हस्पिटालिटी राम्रो भएकोकै कारण धेरै विदेशी पर्यटक नेपाल आउन चाहिरहेको अवस्था छ । यस्तै, हाम्रा हिमाल पहाडदेखि प्राकृतिक सम्पदाले गर्दा उनीहरू पटक–पटक नेपाल आउन चाहन्छन् । तर, हामीले अझै पुर्वाधार निमार्णलाई ध्यान दिन सकिरहेको छैनौं । हाम्रोमा कनेक्टिभिमा धेरै काम गर्न बाँकी छ । यातायातको असहजताको कारण विदेशी पर्यटक नेपाल आउन चाहँदा चाहँदै पनि आउन नसकिरहेको अवस्था छ ।
हस्पिटालिटीको क्षेत्रमा थप विकासका लागि के गर्न सकिन्छ ?
नेपालको हस्पिटालिटी हाम्रो ब्राण्ड हो । यसलाई नै हामीले विश्व जगतमा चिनाउन आवश्यक छ । हस्पिटालिटी कै कारण हाम्रो पहिचान बनेको छ । नेपालीको आतिथ्य सत्कारमा जो सुकै मोहित हुने गरेका छन् । यस्तै, अर्काे महत्वपूर्ण नेपाली खानालाई प्रवर्धन गर्न सकिन्छ । हाम्रोमा तराई, पहाड र हिमालमा पाइने खानालाई प्रवर्धन गर्ने हो भने विभिन्न स्वाद नेपालमै पाइन्छ । त्यो स्वादलाई नेपालमा आउने अतिथिलाई दिन सक्दा यो क्षेत्रको थप विकासमा टेवा पुग्छ । नेपालमा बनाइने खानालाई व्यावसायिकरण गर्न सक्ने हो भने विश्व बजारमा समेत सक्छौं ।
पर्यटन व्यवसायसँग जोडेर हस्पिटालिटी बाहेक अरु के सम्भावना देख्नुहुन्छ ?
हस्पिटालिटी क्षेत्रसँगै नेपाललाई मोडिटेनसको क्षेत्र पनि बनाउन सकिन्छ । नेपाल आउने पर्यटकलाई नेपाली संस्कार र वास्तविक जीवनको अनुभव गराउनका लागि योगा र प्रकृतिसँग रमाउने वातावरण बनाउन सकिन्छ । नेपाल आएर खुशी भएर फर्कने पर्यटक धेरै छन् । हवाई यातायातको असहजतको कारण पर्यटक दोहोर्याएर आउन कठिन अवस्था छ ।
तर, उनीहरूले आफ्ना छोराछोरी वा साथिलाई नेपाल जानका लागि प्रोत्साहन गरेको पाइन्छ । पर्यटन क्षेत्रको थप विकास गर्ने हो भने आन्तरिक र बाह्य हवाई यातायातदेखि भौतिक पुर्वाधार क्षेत्रको विकासमा अझै धेरै काम गर्न आवश्यक छ ।
निजी क्षेत्रले होटल, रिसोर्ट, रेष्टुरेन्ट लगायतमा लगानी गरेका छन् । अब सरकारले पर्यटन क्षेत्रको पुर्वाधार निर्माणमा ध्यान दिन आवश्यक छ । निजी क्षेत्रको लगानी पर्यटकीय क्षेत्रमा बढ्दो छ, त्यसले पर्यटक क्षेत्रलाई मद्दत गरिरहेको छ ।