–बाबुकाजी कार्की
साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रस्फुटित गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सवल नागरिकका रूपमा जीवनयापन गर्न अहम् भूमिका खेल्दछ । साथै, साक्षरता सशक्त आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक शर्तहरू– स्वास्थ्य, शिक्षा, विद्यालय भर्नादर, मातृ–शिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य शर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एकअर्काका परिपूरक हुन् । सहज र सफल जीवन जीउन कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि साक्षरता प्रतिशत वृद्धि गर्न विभिन्न प्रयास हुँदै आएको पाइन्छ ।
युनेस्कोको आह्वानमा ‘डिजिटल युगमा साक्षरताको प्रवद्र्धन’ भन्ने नाराका साथ ५९औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ मनाइँदै छ । डिजिटल साक्षर युग भन्नाले कम्प्युटर, स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाल जस्ता डिजिटल साधनको प्रयोग गरी सूचना खोज्ने, विश्लेषण गर्ने, मूल्यांकन गर्ने, सिर्जना गर्ने र सुरक्षित ढंगले प्रयोग गर्ने क्षमतालाई जनाउँछ । सूचना र प्रविधिका उपकरणको सदुपयोगका लागि डिजिटल साक्षरता प्रस्थान बिन्दुको रूपमा लिन सकिन्छ । यसमा सूचना, साक्षरता, सञ्चार, साइबर सुरक्षा तथा डिजिटल आचारसंहिता समेत समावेश हुन्छ । नेपालले पनि अनलाइन शिक्षा र डिजिटल बैंकिङ तथा सुशासनको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै छ । यद्यपि, ग्रामीण पहुँच, साइबर सुरक्षा र सचेतनाको कमीले डिजिटल साक्षरताको पर्याप्त विकास र विस्तार हुन सकेको छैन ।
सन् १९६५ मा इरानको राजधानी तेहरानमा भएको विश्वभरका शिक्षामन्त्रीहरूको सम्मेलनले मानव सशक्तिकरणमा साक्षरताको महत्वबारे पहिलो पटक संस्थागत रूपमा स्वीकारेको थियो । त्यसैको आधारमा सन् १९६६ मा युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने घोषणा गरेसँगै १९६७ देखि उक्त दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने चलन चलेको हो । नेपालले पहिला शिक्षा दिवसकै दिन साक्षरता दिवस गाभेर मनाउने गरेको थियो, तर लोकतन्त्रको सुरुवातसँगै युनेस्कोले घोषणा गरेकै दिनमा यो दिवस छुट्टै मनाउन थालेको हो । यस दिवसको सार्थकता भनेकै साक्षरताको विकास र विस्तार गरेर आमजनतालाई सशक्तिकरण गर्दै पारस्परिक समझदारीका साथ शान्तिपूर्ण, गुणस्तरीय जीवन जीउन सक्षम बनाउनु हो ।
नेपालमा वि.सं. २०६५ र वि.सं. २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरियो । आ.व. २०६७÷०६८ मा घरधुरी सर्वेक्षणका माध्यमद्वारा निरक्षरहरूको विवरण संकलन गरियो । सोही तथ्यांकको आधारमा वि.सं. २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो । वि.सं. २०७१ सालबाट १५–६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी गरियो । आ.व. २०७१÷७२ लाई निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइयो । वि.सं. २०७६ मा साक्षर नेपाल वर्षको अवधारणापत्र स्वीकृत गरी आगामी २ वर्षभित्रमा साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिइयो । हालसम्म ६४ ओटा जिल्ला र ३ ओटा प्रदेश (बागमती, गण्डकी र कोशी) साक्षर प्रदेश घोषणा भएका छन् भने सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश घोषणाको तयारीमा छन् । साक्षरता घोषणा हुन बाँकी १३ जिल्लाका १५३ ओटा स्थानीय तहमा साक्षरताका १२ ओटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिएको छ । साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको घोषित लक्ष्य पूरा गर्न विगतको अभ्यास, उपलब्धि र अनुभव तथा वर्तमान परिस्थितिका आधारमा बाँकी जिल्ला तथा स्थानीय तहका लागि साक्षरता कार्यक्रम आवश्यक रहेको छ ।
नेपालको साक्षरता प्रतिशतमा प्रगति दर (स्रोत : तथ्यांक विभाग)
विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइरहेको वर्तमान २१औं शताब्दीमा पनि विश्वमा ७६ करोड ५० लाख जनता निरक्षर वयस्क छन्, जसमा करिब हरेक तीन निरक्षरमध्ये दुई जना महिला पर्छन् । त्यस्तै, २५ करोड बालबालिका विद्यालय गएका छैनन् । वि.सं. २०७८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ७६.२ प्रतिशत छ, जसमा पुरुष ८३.६ र महिला ६९.४ प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ ।
अशिक्षाका कारणले विपन्नता, अन्धविश्वास, बेरोजगारी, परनिर्भरता तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले निरक्षरलाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिँदैन, तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसंख्या बढी भएको हाम्रो जस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनु पर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तिकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिँदैन ।
महिला साक्षरता प्रतिशतलाई वृद्धि गर्दै सशक्तिकरणका लागि साक्षरता कार्यक्रमहरूमा केन्द्रित हुनु नेपालको लागि सबैभन्दा महत्वपूर्ण कदम हो । सशक्तिकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनभने महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदैनन्, तबसम्म दिगो विकासको कल्पना पानीको फोका जस्तै हुन्छ । भनिन्छ, एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सीमित हुन्छ, तर एकजना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ । त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, सीपमा वृद्धि गरी सम्पन्नता तर्फ लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।
नेपालमा पनि महिला साक्षर र सशक्तिकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन् । शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरूले महिला सशक्तिकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उदाहरणार्थः महिला साक्षरता प्रथम, द्वितीय, आयआर्जन समूहमार्फत आफूले अंगालेका र सम्भाव्य पेशाहरूलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्न नीति लिएको छ । त्यसैगरी, आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरिएको छ । त्यस्तै, स्वास्थ्य र सरसफाइ सम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ ।
विगत वर्षहरूदेखि राष्ट्रव्यापी साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरिएको छ । साक्षरता कक्षा केन्द्र तोक्ने, स्वयंसेवक एवम् स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरिएको छ । जसको फलस्वरूप कार्यक्रमहरूमा महिला सहभागिता बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन्, जहाँ महिलाले एसईईसम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै, सामुदायिक सिकाइ केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिक रूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ ।
सामाजिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तिकरणको विकल्प छैन । साक्षरता सशक्तिकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गरेर अनौपचारिक शिक्षाका कार्यक्रमहरूमा महिलाको सहभागितालाई उच्च प्राथमिकता दिइँदै आएको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्युदर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रमहरूमा महिलाको पहुँच क्रमिक रूपमा बढेको छ । साथै, साक्षर, शिक्षित एवं सचेत महिला आमा भएको परिवारका बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ ।
उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताका लागि पर्याप्त साधनस्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन–निरीक्षण कार्य, प्रगतिको आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ–सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ । त्यसकारण, साक्षरता कार्यक्रमलाई प्रत्येक नेपालीले घरघरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्छ । अरूले के ग¥यो भन्दा पनि मैले के गरेँ भन्ने कुराले महत्व राख्छ । त्यसकारण ‘यो संसारलाई बदल्नु छ भने आफैँबाट सुरु गरौँ’ भन्ने मनसायका साथ साक्षरता अभियानमा सबैको जाँगरिलो सहभागिता भएमा मात्र साक्षर नेपाल अभियान सफल हुने वास्तविकता हो ।
(कार्की, नेपाल सरकारका पूर्व उपसचिव हुन् ।)